समता खवर सम्बादाता।
कुशहा, ८ कार्तिक । सुरुङ्गा नगरपालिका–१०, पटेर्वामा शनिबार सुरुङ्गा युथ र नेपाल प्रहरी धाती चौकीको संयुक्त आयोजनामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको उक्त सरसफाइ अभियानमा पटेर्वाका युवाहरू, शिक्षक–कर्मचारी, विद्यार्थी, ग्रामवासी र प्रहरी प्रशासनको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालय परिसर, सडक र सार्वजनिक स्थलहरू सफा गरिँदै स्थानीय बासिन्दालाई सरसफाइ र स्वच्छ वातावरणको महत्त्वबारे सचेतना दिलाइयो। सहभागीहरूले सामूहिक प्रयासबाट गाउँलाई स्वच्छ, हरित र सुन्दर बनाउने प्रतिज्ञा गरे।
सुरुङ्गा युथका प्रतिनिधिहरूले भने, “यो कार्यक्रम केवल सरसफाइका लागि मात्र होइन, समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ नजिक ल्याउने उद्देश्यका साथ गरिएको हो।”
कार्यक्रमलाई सफल बनाउन सहयोग र साथ दिने सम्पूर्ण शिक्षक, कर्मचारी, ग्रामवासी, प्रहरी प्रशासन, युवा, विद्यार्थी तथा शुभेच्छुक महानुभावहरूप्रति सुरुङ्गा युथले हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, आगामी दिनमा पनि यस्तै माया, साथ र सहयोगको निरन्तरता रहोस् भन्ने अपेक्षा व्यक्त गरिएको छ।

