समता खबर संवाददाता
सुरुङ्गा (सप्तरी), २१ कात्तिक ।
सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरमा आयोजना गरिएको तेस्रो सुरुङ्गा कप २०८२ खुला फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरीले गर्नुभएको हो।
सुरुङ्गा युवा क्लबको आयोजनामा श्रीपुर खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सिरहाको बानो फुटबल क्लब र सप्तरीको हर्दिया फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो।

रोमाञ्चक खेलमा सुरुङ्गा–२ हर्दियाले बानो फुटबल क्लबलाई ०–१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो। निर्धारित समयको दोस्रो हाफमा हर्दियाका खेलाडीले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका थिए। खेलका ‘म्यान अफ द म्याच’ हर्दिया टिमका प्रविन चौधरी घोषित भए।

आठ टोली सहभागी रहेको प्रतियोगिताको फाइनल खेल कार्तिक २८ गते हुने आयोजक सुजित चौधरीले जानकारी दिए। उनका अनुसार विजेता टोलीले रु. ३१ हजार एक सय नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले रु. २१ हजार एक सय नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, टप गोलस्कोरर, म्यान अफ द म्याच र ‘प्लेयर अफ द टुर्नामेन्ट’लाई पनि पुरस्कार र सम्मान प्रदान गरिनेछ।
उद्घाटन समारोहमा प्रमुख अतिथि नगरप्रमुख गीता चौधरीका साथै वडा नं. ६ का अध्यक्ष दिनेश कुमार राम, वडा नं. ४ का अध्यक्ष देवेन्द्र प्रसाद चौधरी, वडा नं. ११ का अध्यक्ष रामकुमार चौधरी, वडा नं. ६ का पूर्वअध्यक्ष लिलाकान्त चौधरी लगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
नगरप्रमुख चौधरीले खेलकुदले युवा पुस्तालाई एकताको सूत्रमा बाँध्ने बताउँदै स्थानीय खेलमैदानलाई व्यवस्थित रूपमा विकास गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

