कार्तिक पूर्णिमामा सिरहाको कमला नदीमा श्रद्धालुहरूको ठुलो भीड

सुजित चौधरी

सिरहा, १९ कार्तिक । कार्तिक पूर्णिमाको पावन अवसरमा सिरहाको इनरवा घाटस्थित कमला नदीमा बिहानैदेखि लाखौं श्रद्धालु भक्तजनहरूले पवित्र स्नान गरेका छन्। धार्मिक परम्पराअनुसार कमला स्नानलाई अत्यन्तै पुण्यदायी कार्यका रूपमा मानिने गरेको छ।

बिहान सबेरैदेखि भक्तजनहरू नदीमा स्नान गरी माता कमलेश्वरीको आराधनामा तल्लीन देखिएका थिए। कतिपयले व्रत बसेर परिवारको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। स्नानपछि भक्तजनहरूले दीपदान र भजन–कीर्तनमा सहभागिता जनाउँदा सम्पूर्ण वातावरण धार्मिक र आध्यात्मिक रंगमा रंगिएको थियो।

धनगढीमाई नगरपालिका–५, तिनकोनी निवासी गुरु गुनदेव चौधरीका अनुसार, “श्रद्धालु भक्तजनहरूले धार्मिक विश्वासअनुसार आनन्दपूर्वक स्नान गर्दा आत्मा पवित्र हुने र जीवनमा शान्ति प्राप्त हुने विश्वास रहिआएको छ।” उनका अनुसार कमला स्नान केवल धार्मिक संस्कार मात्र नभई सामाजिक एकताको प्रतीक पनि हो।

बेलुकीपख कमला नदी किनार हजारौँ दियोहरूले झलमल्ल उज्यालो बनेको थियो। दीपदानको मनमोहक दृश्यले सम्पूर्ण इनरवा घाटलाई उज्यालो र आकर्षक बनाएको थियो। भक्तजनहरूको उत्साहपूर्ण सहभागिता र भक्ति भावले यस वर्षको कार्तिक पूर्णिमा कमला स्नानलाई विशेष र ऐतिहासिक बनाएको स्थानीयहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *