सांस्कृतिक सम्पदा संरक्षणमा युवाको पहल: तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु

समता खवर सम्बादाता ।
कुशहा, १८ कार्तिक । स्थानीय युवाको नेतृत्वमा सांस्कृतिक सम्पदा संरक्षण र दिगो विकास लक्ष्यलाई विद्यालयस्तरमै जोड्ने उद्देश्यसहित सुरुङ्गा नगरपालिका–४ कनकपुरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा तीनदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ।

‘सांस्कृतिक सम्पदा (भौतिक र अभौतिक) संरक्षण तथा सम्बद्र्धनमा युवा अभियान र विद्यालयस्तरमा दिगो विकास लक्ष्य प्राप्तिका लागि भएका क्रियाकलापहरूको लेखाजोखा तथा स्थानीय तहमा राष्ट्रिय कार्यढाँचा विषयक अभिमुखीकरण’ शीर्षकमा सुरु भएको उक्त कार्यक्रम कार्तिक १८ देखि २० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएका छन् ।

युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगद्वारा आयोजित उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख गीता चौधरीले गर्नुभयो । उहाँले युवाहरू नै दिगो विकास र सांस्कृतिक सम्पदाको वास्तविक पहरेदार भएको बताउँदै विद्यालय र समुदायबीचको सहकार्यबाट दीर्घकालीन प्रभाव पार्न सकिने उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगकी सदस्य माननीय रञ्जु झाले “सम्पदाको मूल्य बुझ्ने पुस्ता नै विकासको दिशा तय गर्छ । युवाहरूले आफ्नो संस्कृतिको जरा बुझ्न सके मात्र दिगो विकास सम्भव हुन्छ ।”

कार्यक्रमको सहजीकरण युनेस्कोका सदस्य रामेश्वर प्रसाद यादवले गर्नुभएको हो । उहाँले युवा र विद्यार्थीहरूलाई स्थानीय स्तरमै भौतिक र अभौतिक सम्पदाको अभिलेखीकरण, प्रबर्धन र संरक्षणका व्यवहारिक उपायहरू सिकाउनुभयो ।
युनेस्कोका प्रतिनिधि दिपक भण्डारी लगायत स्थानीय शिक्षक, विद्यार्थी र सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले विद्यालय र युवाको सक्रियताले स्थानीय तहमा दिगो विकासको आधार बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *