दिपेन्द्र पासवान
सप्तरी ,११ भदोै । बिपद्धमा परेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन आसमान नेपालले ७ लाख ९ हजार ७ सय ४५ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका कर्मचारीबाट संकलित रकम र आसमान नेपालको इमर्जेन्सी फन्डबाट जुटाइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका कार्यकारी निर्देशक नवलकिशोर यादवले जानकारी दिए।
यादवका अनुसार बाढीबाट प्रभावित तथा जोखिममा परेका परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको हो। ‘संकटको समयमा समस्यामा परेका नागरिकलाई सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो,’ उनले भने, ‘प्रभावित समुदायको आवश्यकता पहिचान गरी राहत र पुनःस्थापनाका प्रयासमा पनि सहयोग गर्ने हाम्रो उद्देश्य हो।’
रसुवामा आएको भीषण बाढीले विभिन्न क्षेत्रमा जनधनको क्षति पुर्याएको छ। बाढीपछि प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी छ।
आसमान नेपालले शिक्षा, बालअधिकार, जीविकोपार्जन तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले विपद्का बेला मानवीय सहायता र समुदायको संरक्षणलाई आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा मानेको जनाएको छ।
बाढीपीडितका लागि विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका काममा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

