समता खवर सम्बादाता।
काठमाडौं ,१० भदौ । रसुवामा भोटेकोशी नदीमा एक्कासि आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण जिल्लाका चारवटा प्रहरी कार्यालय तथा सुरक्षा संरचना बगाउँदा त्यहाँ कार्यरत ४९ जना प्रहरी सम्पर्कविहीन भएका छन्।
बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, रसुवागढी, प्रहरी चौकी स्याफ्रुबेंशी र मेलुङ बगाएको प्रहरी प्रधान कार्यालयनले जनाएको छ। प्रहरीका अनुसार ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्।
इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत १६ जना, प्रहरी चौकी स्याफ्रुबेंशीका ९ जना, रसुवागढीमा कार्यरत ९ जना र मेलुङमा कार्यरत ६ जना प्रहरी सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यसैगरी, बाढीका कारण सशस्त्र प्रहरी बलको टिमुरे बीओपीमा कार्यरत ९ जना कर्मचारीसमेत सम्पर्कविहीन रहेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। यससँगै रसुवामा सुरक्षाकर्मीको ठूलो समूह नै सम्पर्कविहीन भएपछि खोज तथा उद्धार कार्यलाई प्राथमिकतामा राखिएको छ।
चीनतर्फबाट आएको बाढीले मच्चायो वितण्डा
भोटेकोशी नदीमा एक्कासि आएको बाढी चीनतर्फबाट आएको प्रारम्भिक जानकारी छ। बाढीको बहाव अत्यधिक रहेकाले नदी आसपासका क्षेत्रमा रहेका संरचनामा ठूलो क्षति पुगेको बताइएको छ।
बाढीको वास्तविक कारणबारे यकिन भइनसके पनि प्रारम्भिक रूपमा हिमताल फुटेका कारण एक्कासि ठूलो मात्रामा पानी नदीमा मिसिएर बाढी आएको हुन सक्ने आशंका गरिएको छ। सम्बन्धित निकायले घटनाको अवस्था र क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।
नुवाकोटमा पनि ठूलो क्षति
बाढीको प्रभाव रसुवामा मात्र सीमित छैन। नुवाकोटमा समेत बाढीका कारण ठूलो क्षति भएको प्रारम्भिक विवरण आएको छ। नदी तथा खोलानालामा आएको अचानकको बहावले आसपासका बस्ती, सडक तथा भौतिक संरचनामा समेत जोखिम बढाएको छ।
बाढीपछि सम्पर्कविहीन भएका प्रहरी तथा सशस्त्र प्रहरीका कर्मचारीको अवस्थाबारे खोजी भइरहेको छ। तर, बाढीको तीव्र बहाव र प्रभावित क्षेत्रमा पुग्न कठिनाइका कारण उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ।
प्रहरी तथा सशस्त्र प्रहरीका कार्यालय नै बाढीले बगाएपछि सुरक्षाकर्मीको अवस्थासँगै प्रभावित क्षेत्रमा उद्धार, सुरक्षा र राहत व्यवस्थापनमा समेत थप चुनौती सिर्जना भएको छ।
घटनाको विस्तृत मानवीय तथा भौतिक क्षतिको विवरण भने खोज तथा उद्धार कार्य अघि बढ्दै जाँदा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

