समता खवर सम्बादाता ।
राजबिराज, ३१ भदौ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको गेटबाहिर सुत्केरी हुनुपरेको भनिएको बबिता पासवान घटनालाई लिएर संयुक्त दलित संघर्ष समिति सप्तरीले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै बुधबार राजविराजमा प्रदर्शन गरेको छ।
शिव मन्दिर परिसरबाट निकालिएको जुलुस राजविराज बजारका विभिन्न भाग परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो। प्रदर्शनकारीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालको सेवा प्रणाली, स्वास्थ्यकर्मीको जिम्मेवारी र प्रशासनिक व्यवस्थापनमा देखिएका कमजोरीबारे छानबिन गर्न माग गरेका छन्। त्यसपछि अस्पताल पुगेर अस्पताल प्रमुखलाई समेत छुट्टै ज्ञापनपत्र बुझाइएको थियो।
संघर्ष समितिले बबिता पासवान घटनाको सत्यतथ्य निष्पक्ष रूपमा सार्वजनिक गर्न, घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जिम्मेवार देखिएका व्यक्ति तथा निकायमाथि कानुनबमोजिम कारबाही गर्न र बबिता तथा उनका नवजात शिशुको स्वास्थ्य, सम्मान र न्याय सुनिश्चित गर्न माग गरेको छ।

समितिले सरकारी अस्पतालमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पतालकै मूल गेटबाहिर बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको जनाएको छ। सुरक्षित मातृत्वको अधिकार सुनिश्चित गर्न अस्पतालमा आकस्मिक तथा प्रसूति सेवा चौबीसै घण्टा प्रभावकारी बनाउन, आवश्यक स्वास्थ्यकर्मी, औषधि, उपकरण तथा रगतको व्यवस्था गर्न पनि माग गरिएको छ।
आर्थिक अभावका कारण कुनै पनि गर्भवती महिलालाई उपचारबाट वञ्चित गर्न नहुने तथा दलित, विपन्न र सीमान्तकृत समुदायका नागरिकलाई विभेदरहित र सम्मानजनक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने समितिको भनाइ छ। बिरामी भर्ना तथा उपचार प्रक्रिया पारदर्शी बनाउन र गुनासा सुनुवाइका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नसमेत माग गरिएको छ।
यसैबीच, बबिता पासवान घटनाको छानबिनका लागि गठित अनुगमन समितिले स्थलगत अध्ययन गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ। नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा गठित समितिले भदौ २५ देखि २७ गतेसम्म अस्पतालको निरीक्षण तथा अनुगमन गरी स्वास्थ्यकर्मी, अस्पताल प्रशासन र सेवा प्रवाहसँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन गरेको थियो।
मन्त्रालयका अनुसार प्रतिवेदनमा उल्लेख भएका तत्काल कार्यान्वयन गर्न सकिने प्रशासनिक सुझाव कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाइएको छ। आचारसंहिता उल्लंघनसँग सम्बन्धित विषय आवश्यक कारबाहीका लागि सम्बन्धित परिषद्मा पठाइएको मन्त्रालयले जनाएको छ।

अस्पतालमा जनशक्ति व्यवस्थापन सुधारका लागि ८० अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति प्राप्त भएको र प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको मन्त्रालयको भनाइ छ। छात्रवृत्तिमा अध्ययन पूरा गरेका सात जना चिकित्सकलाई समेत दुई वर्षका लागि अस्पतालमा पठाइएको जनाइएको छ।
प्रदर्शनमा संयुक्त दलित संघर्ष समिति सप्तरीका जिल्ला संयोजक प्रथमलाल रामसहित दलित अगुवा बद्री सदा, गंगा सदा, सियाराम पासवान, दीपेन्द्र पासवान, शिवदर्शन पासवान, सोनी रजक, सानी मण्डललगायत सहभागी थिए। बबिता पासवानका श्रीमान् हरेराम पासवानसहित सयौं दलित अगुवा तथा अधिकारकर्मी प्रदर्शनमा सहभागी भएका थिए।
प्रदर्शनकारीले बबिता पासवानको घटना एउटा परिवारको मात्र समस्या नभई सुरक्षित मातृत्व, सार्वजनिक स्वास्थ्य सेवा र राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको बताएका छन्। उनीहरूले छानबिन प्रतिवेदन कार्यान्वयन, दोषी देखिएकामाथि कारबाही र अस्पतालको सेवा प्रणालीमा तत्काल सुधारको माग गरेका छन्।

