समता सम्बादाता
हुम्ला १२ भदौ । — ताजाकोट गाउँपालिकामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार गर्न खोजेको आरोपमा गाउँपालिकाका तीन जना कर्मचारी पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ताजाकोट–३, मैलास्थित स्वास्थ्य चौकी इन्चार्ज लीलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा रहेका छन्। उनीहरूले भदौ १० गते राति मदिरा सेवन गरेका अवस्थामा कार्यरत संस्थाकी महिला कर्मचारीको कोठामा गई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गर्न खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।
पीडित महिलाले घटनाबारे तत्कालै आफ्नो संस्थाको काठमाडौंस्थित कार्यालयलाई जानकारी गराएकी थिइन्। त्यसपछि कार्यालयमार्फत प्रहरीलाई खबर गएपछि छप्रेला प्रहरी चौकीको टोलीले राति नै तीनैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए।
‘उनीहरूलाई राति नै पक्राउ गरेर ल्याइएको छ,’ डिएसपी पोखरेलले भने, ‘पीडित महिलाको जाहेरीका आधारमा मुद्दा दर्ता गरी म्याद थपका लागि जिल्ला अदालत पठाइनेछ।’ उनका अनुसार तीनैजनाले मादक पदार्थ सेवन गरेको प्रमाणित भएको छ भने थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।

