समता सम्बादाता ।
काठमाडौँ, भाद्र १२, २०८२ । उच्च अदालत पाटनले मधेशका पूर्व प्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) लाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ।
मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई कायम राखेको हो। जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ गते अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।
अहिराजलाई साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो। त्यसको ९ दिनमै सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदनसहित बलात्कार मुद्दा दायर गरेको हो। एक महिलाले गत जेठ ४ गते नयाँ बानेश्वरस्थित डेरामा आफूलाई बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो।
अहिराजले भने आफूविरुद्धको जाहेरी असत्य भएको दाबी गर्दै ती महिलाविरुद्ध प्रतिवादी मुद्दा दायर गरेका छन्। अहिराज मधेश प्रदेशका पहिलो प्रदेश प्रमुख भएका थिए।

