समता खबर सम्बादाता ।
काठमाण्डौ, १२ भदौ । स्वास्थ्य बीमा बोर्डले तोकिएको समय सीमा भित्र स्वास्थ्य बीमा नविकरण नगर्ने परिवारलाई थप शुल्क तिर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध परिवारले समयमै नविकरण नगरे स्वास्थ्य सेवाबाट वञ्चित हुने मात्र नभई नविकरण गर्दा बढी रकम तिर्नुपर्ने भएको हो ।
बोर्डले आइतबार सार्वजनिक गरेको सूचनामा २०८२ असोज मसान्त भित्र ई–सेवा, कनेक्सन आईपिएस, खल्ती लगायत अनलाइन प्रणाली वा बोर्डसँग सहकार्यमा तोकिएका माध्यम मार्फत बीमा नविकरण गर्न सकिने सुचनामा उल्लेख गरिएको छ । म्याद गुज्रिए पछि भने ढिलाइ अनुसार अतिरिक्त शुल्क तिर्नुपर्ने प्रावधान लागू हुने चेतावनी दिइएको छ ।
सूचना अनुसार बीमा अवधि समाप्त भएको तीन महिना भित्र नविकरण गरे योगदान रकममा १० प्रतिशत अतिरिक्त शुल्क लाग्ने जनाएको छ । त्यस्तै, छ महिना भित्र नविकरण गरे ३० प्रतिशत, एक वर्षभित्र नविकरण गरे ५० प्रतिशत, दुई वर्षसम्म नविकरण नगरी ढिलाइ गरे योगदान रकमको तीन गुणा र तीन वर्ष ढिलाइ गरे चार गुणा बराबर रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ ।
बोर्डले सुचना मार्फत उदाहरण सहित स्पष्ट गरे अनुसार वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गर्ने परिवारले समयमै नविकरण नगरे एक महिनाभित्र नविकरण गर्दा ३ हजार ८५० रुपैयाँ, छ महिनाभित्र नविकरण गर्दा ४ हजार ५५० रुपैयाँ, एक वर्षभित्र नविकरण गर्दा ५ हजार २५० रुपैयाँ, दुई वर्ष ढिलाइ गर्दा ९ हजार रुपैयाँ, तीन वर्ष ढिलाइ गर्दा १० हजार ५०० रुपैयाँ र त्यस पछाडि १४ हजार रुपैयाँ सम्म तिर्नुपर्ने जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डले बीमा नविकरण नगर्दा बीमालेख स्वतः निष्क्रिय हुने र बीमित परिवार स्वास्थ्य सेवाबाट वञ्चित हुने भएकाले तत्कालै बीमा नविकरण गर्न आग्रह गरेको छ । बोर्डका अनुसार देशभरका लाखौं परिवार यो कार्यक्रममा आबद्ध छन् र ढिलाइ हुने क्रम रोक्न आवश्यक सूचना सार्वजनिक गरिएको हो ।

