जातीय विभेदविरुद्ध अधिकारकर्मी र अभियानकर्मीको ऐक्यबद्धता
समता खवर सम्बादाता ।
लहान, ५ असोज । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भइसके पनि दलित समुदायले अझै घर तथा कोठा भाडामा लिँदा जातीय विभेदको सामना गर्नुपरेको भन्दै सिरहाको लहानमा अधिकारकर्मी तथा अभियानकर्मीहरूले प्रदर्शन गरेका छन्।
माइतीघरमा विगत १५४ दिनदेखि ‘सरकार, कोठा खाली छ ?’ सत्यग्रह धर्ना सञ्चालन गर्दै आएकी दिपा नेपालीको अभियानप्रति ऐक्यबद्धता जनाउँदै लहानमा स्थानीय अधिकारकर्मी मनोज पासवान, सलिता सदा, दिपेन्द्र पासवानलगायतले प्लेकार्ड तथा ब्यानरसहित प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले कोठा भाडामा माग्न जाँदा घरधनीले जात सोध्ने र दलित भएको थाहा पाएपछि कोठा खाली नभएको भन्दै फर्काउने गरेको बताए । उनीहरूले संविधानले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा विभेद कायमै रहेको भन्दै त्यसको अन्त्यका लागि राज्यको प्रभावकारी पहल आवश्यक रहेको बताए।
अधिकारकर्मीहरूले जातका आधारमा आवासबाट वञ्चित गर्ने प्रवृत्तिको अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक चेतना अभिवृद्धिमा जोड दिएका हुन्। उनीहरूले आवास पाउनु नागरिकको आधारभूत अधिकार भएकाले जात, समुदाय वा पृष्ठभूमिका आधारमा कसैलाई पनि विभेद गर्न नहुने बताए ।
प्लेकार्ड र ब्यानरसहित गरिएको प्रदर्शनमा ‘जात होइन, समान अधिकार चाहिन्छ’, ‘कोठा भाडामा लिन जात सोध्न बन्द गर’ लगायतका सन्देशहरू उल्लेख गरिएको थियो।

अभियानकर्मीहरूले दिपा नेपालीले सञ्चालन गर्दै आएको सत्यग्रह धर्नालाई समर्थन गर्दै जातीय विभेदविरुद्धको आवाजलाई स्थानीय तहसम्म पुर्याउने बताएका छन्। उनीहरूले आवास, शिक्षा, रोजगारी तथा सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा देखिँदै आएको जातीय विभेद अन्त्यका लागि निरन्तर खबरदारी आवश्यक रहेको बताएका थिए।

