सप्तरीमा घरभित्रै लुकाएर राखिएको २१ क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

समता खवर सम्वादाता ।
सप्तरी,४ असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेत्तपुर टोलबाट प्रहरीले २१ क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा शनिबार मध्यराति जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको टोलीले स्थानीयको घरमा खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गाँजा भण्डारण गरेको आरोपमा डाक्नेश्वरी–६ का ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखियालाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमराज घिमिरेका अनुसार सदाको घरबाट ५६ वटा पोकामा १ हजार ८ सय ३८ दशमलव ८७० किलोग्राम र मुखियाको घरबाट ८ वटा पोकामा २ सय ६१ दशमलव ५०० किलोग्राम गाँजा बरामद भएको छ।

दुवै घरबाट बरामद गाँजाको कुल परिमाण २ हजार १ सय ०० दशमलव ३७० किलोग्राम अर्थात् २१ क्विन्टल ३७ किलोग्राम रहेको प्रहरीले जनाएको छ।

बरामद गाँजा कहाँबाट ल्याइएको थियो, भण्डारण तथा ओसारपसारमा अरू व्यक्तिको संलग्नता थियो वा थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *