समता खवर सम्वादाता ।
सप्तरी, २ श्रावण । चौथो हरवा–चरवा मुक्ति दिवसको अवसरमा सप्तरीका कञ्चनरूप, सुरुङ्गा, खडक, बलान–बिहुल र तिलाठी–कोइलाडीमा ¥याली, अन्तरक्रिया, दीप प्रज्वलन तथा छात्रवृत्ति वितरण कार्यक्रम गरी दिवस मनाइएको छ।
जन चेतना दलित संगमको आयोजनामा कञ्चनरूप नगरपालिकामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा हरवा–चरवाको लगत संकलन, परिचयपत्र वितरण, पुनस्र्थापना, श्रमिकको हक, न्यूनतम ज्याला तथा समान कामको समान ज्यालाको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाकी उपप्रमुख मुना पोखरेलले हरवा–चरवासम्बन्धी कार्यविधिको प्रक्रिया अघि बढिसकेको र चालु आर्थिक वर्षमा समुदायका सवाल सम्बोधन गर्न बजेटसमेत विनियोजन गरिएको बताउनुभयो । कार्यक्रममा विभिन्न पालिकाका जनप्रतिनिधि, हरवा–चरवा सञ्जालका प्रतिनिधि तथा जन चेतना दलित संगमका पदाधिकारी सहित ४५ जनाको सहभागिता रहेको थियो ।
दिवसकै अवसरमा कञ्चनरूप नगरपालिका वडा नं. ४ र ५ का ६० जना हरवा–चरवा समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । प्रत्येक विद्यार्थीलाई १० थान कापी, विद्यालय पोशाक, पेन्सिल, इरेजर, कटर तथा पोशाक सिलाइ खर्चबापत ८ सय रुपैयाँ नगद प्रदान गरिएको थियो ।
यसैबीच, सुरुङ्गा नगरपालिकामा कनकपुरदेखि कदमाहा चोकसम्म निकालिएको ¥यालीमा हरवा–चरवाको पुनस्र्थापना, श्रमको सम्मान, समान कामको समान ज्याला, उच्च शिक्षाको ग्यारेन्टी तथा सुरक्षित बासको व्यवस्था गर्न माग गर्दै ¥याली निकालिएकोे थियो ।
त्यसैगरी खडक नगरपालिका, बलान–बिहुल र तिलाठी–कोइलाडी गाउँपालिकामा पनि ¥याली, दीप प्रज्वलन तथा सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको जन चेतना दलित संगमले जनाएको छ ।

