समता खवर सम्बादाता ।
सप्तरी, १९ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा मलम लगाउने उद्देश्यले सप्तरी क्षेत्र नं. ४ बाट संकलन गरिएको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
सप्तरी क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य सीताराम साहको अगुवाइ तथा समन्वयमा सञ्चालन गरिएको राहत संकलन अभियानअन्तर्गत स्थानीय नागरिक, दाता, व्यवसायी, स्वयंसेवक तथा शुभेच्छुकहरूको सहयोगमा खाद्यान्न, कपडा र दैनिक उपभोग्य सामग्री संकलन गरिएको हो।
संकलित राहत सामग्रीमा चामल, भुजा, चिउरा, कपडा, कुर्ता, बालबालिकाका कपडा, तेल, बिस्कुट, नुन, दाल, चिनी, साबुनलगायतका अत्यावश्यक सामग्री रहेका छन्।
संकलित सामग्रीको विवरणसमेत तयार गरी बबरमहलस्थित नेपाल सरकारको राहत संकलन केन्द्रमा औपचारिक रूपमा बुझाइएको जनाइएको छ।
रसुवा–भोटेकोशी क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले सप्तरीबाट राहत अभियान सुरु गरिएको थियो।
अभियानमा सप्तरीका नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्दै दुःखमा परेका नागरिकप्रति मानवीय ऐक्यबद्धता प्रस्तुत गरेका छन्।
राहत संकलन अभियानमा सहभागीहरूले भौगोलिक दूरीले मानवीय सम्बन्धलाई रोक्न नसक्ने भन्दै रसुवाका नागरिकको पीडालाई आफ्नै पीडाका रूपमा लिएर सहयोग जुटाइएको बताएका छन्।
‘विपद्मा पीडितको साथमा उभिनु नै मानवता हो’ भन्ने भावनासहित अघि बढाइएको अभियानले सप्तरी र रसुवाबीचको मानवीय सम्बन्धलाई अझ बलियो बनाएको सहभागीहरूको भनाइ छ।
अभियान सफल बनाउन सहयोग गर्ने दाता, व्यवसायी, स्थानीय नागरिक, स्वयंसेवक, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी हातहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।
विपद्को समयमा राहत सामग्री हस्तान्तरण गर्नु केवल सहयोग मात्र नभई पीडित परिवारलाई ‘तपाईंहरू एक्लै हुनुहुन्न, हामी तपाईंहरूको साथमा छौँ’ भन्ने मानवीय सन्देशसमेत भएको अभियानकर्ताहरूले बताएका छन्।

