छानबिन समितिको अन्तिम प्रतिवेदन नआएसम्म जिम्मेवारीबाट हटाउने अस्पताल प्रशासनको निर्णय
समता खवर सम्बादाता।
राजविराज,२६ भदौ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटनामा अस्पताल प्रशासनले कडा कदम चालेको छ। घटनाप्रति सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि अस्पतालले घटनासँग सम्बन्धित ६ जना कर्मचारीलाई कामकाजबाट हटाएको हो।
अस्पतालले भदौ २५ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा अस्पताल परिसरको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनाको वास्तविकता पत्ता लगाउन अस्पतालले गठन गरेको छानबिन समिति लगायत घटनाको छानबिनका लागि गठन गरिएका अन्य समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म सम्बन्धित कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्म कामकाजबाट हटाइएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले जारी गरेको पत्रअनुसार डा. उषा देव, स्टाफ नर्स मनिषा कुमारी साह, स्टाफ नर्स सजन चौधरी, का.स. रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई कामकाजबाट हटाइएको हो।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाको हस्ताक्षर रहेको पत्रमा छानबिन समितिहरूको अन्तिम प्रतिवेदन नआएसम्म उनीहरूलाई कामकाजबाट हटाइएको स्पष्ट गरिएको छ।
अस्पतालको मूल गेटमै सुत्केरी हुनुपरेको घटनाले अस्पतालको आपत्कालीन सेवा, बिरामीप्रतिको व्यवहार तथा स्वास्थ्य संस्थाको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनमाथि चौतर्फी आलोचना भएको छ।
अब छानबिन समितिको प्रतिवेदनले महिलाले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था किन आयो, जिम्मेवार को हो र अस्पतालको सेवा प्रवाहमा कहाँ कमजोरी भयो भन्ने विषय प्रस्ट पार्ने अपेक्षा गरिएको छ।

