समता खवर सम्बादाता।
कुसाहा ,७ वैशाख। सुरुङ्गा नगरपालिका वडा नं. ८ मा नव-निर्मित माथिल्लो तल्लाको वडा कार्यालय भवनको शिलालेख वाचनसहित उद्घाटन सम्पन्न भएको छ। नगर प्रमुख गीता चौधरीले भवन उद्घाटन गर्दै स्थानीय तहमा सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख चौधरीले हालको स्वास्थ्य चौकी भवन जिर्ण बन्दै गएको उल्लेख गर्दै त्यसलाई वडा कार्यालयको तल्लो तल्लामा सार्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस कदमले स्वास्थ्य सेवा थप व्यवस्थित र पहुँचयोग्य हुने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष श्याम प्रसाद साहले नव-निर्मित भवनले वडा कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा थप विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।
अतिथिका रूपमा सहभागी मुसहरनिया आधारभूत विद्यालय, समसेरपुरका भूतपूर्व प्रधानाध्यापक तथा समाजसेवी सत्य नारायण पासवान तथा आधारभूत विद्यालय महुलियाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं भूतपूर्व प्रधानाध्यापक शुभ नारायण चौधरीले स्थानीय पूर्वाधार विकाससँगै शिक्षा र सामाजिक क्षेत्रको सुदृढीकरण आवश्यक रहेको धारणा राख्नुभयो। त्यसैगरी, मा.वि. मलहनमाका प्रधानाध्यापक राम कुमार महराले शिक्षा र पूर्वाधार विकास सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य पबनी चौधरीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन वडा सचिव सन्तोष कुमार चौधरीले गर्नुभएको थियो।
उक्त कार्यक्रममा नगर उपप्रमुख रुद्र बहादुर कार्की, वडा सदस्यहरू चन्द्र नारायण चौधरी, मेनी सदाय, पबनी चौधरी र हियालाल चौधरी लगायत स्थानीय समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी तथा भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले वडा स्तरमा सेवा विस्तार र पूर्वाधार विकासप्रति स्थानीय सरकारको प्रतिबद्धता पुनः स्पष्ट पारेको छ।

