राजेश भाष्कर ।
कुशहा २ कार्तिक । चाडपर्वलाई स्वच्छ र सुरक्षित वातावरणमा मनाउने सन्देश दिनुका साथै स्थानीयवासीमा सरसफाइप्रति चेतना फैलाउने उदेश्य सहित आईतवार सप्तरीको सुरुङ्गा नगरपालिका–८ धाँती बजार समसेपुरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
श्री धाँती युवा क्लबको आयोजनामा संचालित उक्त कार्यक्रममा स्थानीय सरोकारवाला, युवाहरू र बौद्धिक वर्गको सक्रिय सहभागितामा कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको वडा अध्यक्ष श्याम प्रसाद साहले बताएका छन् ।
श्री धाँती युवा क्लबका अध्यक्ष दिपेश कुमार चौधरीको अध्यक्षतामा संचालित कार्यक्रममा भने सुरुङ्गा नगरपालिकाका नगर प्रमुख गिता चौधरी, अध्यक्ष श्याम प्रसाद साहका साथै कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षक, पत्रकार, प्रहरी, युवा तथा स्थानीय व्यापारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख गीता चौधरीले नगरपालिकाले यस्ता रचनात्मक र समाज हितमा आधारित अभियानहरूलाई सधैं समर्थन गर्ने बताउनुभयो । उहाँले यस्तो अभियानले केवल सफा गर्ने मात्र नभई जनताको सोच बदल्ने काम पनि गर्ने भन्दै युवा क्लबको प्रयासको प्रशंसा गर्नुभयो ।
त्यस्तै, वडा अध्यक्ष श्याम प्रसाद साहले समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूको भूमिका निर्णायक हुने उल्लेख गर्दै सरसफाइ जस्ता अभियानले जनचेतनामा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडाको तर्फबाट यस्ता अभियानमा आवश्यक सबै प्रकारको सहयोग प्रदान गरिने बताउनुभयो ।
यसैगरी, थानिय बुद्धिजीवी तथा शिक्षक जयकान्त ठाकुरले सफा वातावरणले केवल मानिसको स्वास्थ्यमा मात्र नभई मानसिक स्थितिमा पनि सकारात्मक प्रभाव पार्ने बताउँदै यस्तो अभियानले समाजमा स्वच्छ जीवनशैलीको अभ्यास सुरु गर्ने अवसर प्रदान गर्ने धारणा राख्नुभयो । बहाले खुल्ला दिशामुक्त वडा घोषणा भई सक्दा पनि त्यसको ब्यबहारमा कार्यन्वयन नभएको प्रति दुःख ब्यक्त गर्दै स्थानियबासी तथा जनप्रतिनिधीहरुको ध्यान जानु पर्ने सुझाए ।
क्लब अध्यक्ष दिपेश कुमार चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै समाजमा सफा र स्वस्थ वातावरण बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । उहाँले स्थानीय युवाहरूको सक्रियता प्रशंसनीय रहेको भन्दै क्लबको तर्फबाट आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम अन्तर्गत स्थानीय सडक, सार्वजनिक स्थल, बाटो तथा बस्ती क्षेत्रमा सरसफाइ गरिएको थियो। सहभागीहरूले हातमा झोला, कुचो, मास्क आदि प्रयोग गरी प्लास्टिक, फोहोर र अन्य वस्तुहरूको व्यवस्थापन गरेका थिए ।
उक्त सरसफाइ अभियानले स्थानीय बासिन्दामा स्वच्छता र सामूहिक उत्तरदायित्वको भावना जागृत गरेको छ। दीपावली र छठ पर्वको पूर्वसन्ध्यामा गरिएको यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सहभागिहरुले बताएका छन् ।

