समता खबर सम्बादाता
कुशहा, २२ असोज । दशैंजस्तो ठूलो चाडमा समेत तलब नपाएको भन्दै सप्तरीको खडक नगरपालिकाका शिक्षक आन्दोलित बनेका छन्। उनीहरूले चार महिनासम्म तलब नदिइ आफूहरूलाई “भोको पेटले काम गर्न बाध्य” बनाइएको आरोप लगाउँदै बुधबार नगरपालिकाको मूल गेटमा तालाबन्दी गरेका हुन्।
तलब रोकिएको विरोधमा शिक्षकहरूले नगरभित्रका विद्यालयहरूमा पठनपाठन ठप्प पारेका छन्। उनीहरूले बिहीबारदेखि नै नगरपालिका कार्यालय अगाडि धर्ना सुरु गर्ने चेतावनी पनि दिएका छन्।
शिक्षकहरूको भनाइअनुसार, असोज २ गते तलब र भत्ताको माग गर्दै गरिएको विरोधपछि कार्यपालिकाको बैठकले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक कारोबार गर्न अख्तियारी दिने निर्णय गरेको थियो। तर सो निर्णय कार्यान्वयन नहुँदा उनीहरू पुनः असोज ७ गते जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन पुगेका थिए।
“हामीले चार महिनादेखि तलब पाएका छैनौं। भोको पेट र निसासिएको आत्मासँग काम गर्न सकिँदैन,” विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा थप उल्लेख गरिएको छ, “हाम्रो आन्दोलनबाट सेवाग्राहीमा पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवारी खडक नगरपालिका स्वयंले लिनुपर्नेछ।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ राख्दै शिक्षकहरूले न्यायका लागि सहयोग गर्न सम्पूर्ण अभिभावक, बुद्धिजीवी, विद्यार्थी, कर्मचारी र जनप्रतिनिधीहरूसँग अपिल गरेका छन्।

