सप्तरी, १९ असोज । सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित बलान खोलाको किनारबाट प्रहरीले करिब ४८ किलो गाँजा बरामद गरेको छ। तर बरामद गरिएको लागूऔषध नजिकै रहेको इलाका प्रहरी कार्यालय कडरबोनामा नलगी करिब १२ किलोमिटर दक्षिणमा पर्ने प्रहरी चौकी चन्हीमा लगिएको विषयले भने प्रश्न उठाएको छ।
१९ गते सोमबार राति करिब १ः३० बजे विशेष सूचनाका आधारमा प्रहरी चौकी धाँती र प्रहरी चौकी चन्हीका असईको कमान्डमा खटिएको प्रहरी टोलीले सुरुङ्गा नगरपालिका–४ स्थित बलान खोलाको पुलबाट करिब ५०० मिटर दक्षिणतर्फ बलान खोलाको किनारबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार गस्ती टोलीलाई देखेपछि केही व्यक्तिहरूले टाउकोमा बोकेर ल्याउँदै गरेका प्लास्टिकका तीनवटा बोरा फ्याँकेर फरार भएका थिए। प्रहरीले ती बोराबाट गाँजा बरामद गरेको हो।
बरामद गाँजासहितको बोराको तौल ४९ किलो २०५ ग्राम र बोरा हटाउँदा ४८ किलो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
तर घटनास्थलबाट तुलनात्मक रूपमा नजिकै रहेको इलाका प्रहरी कार्यालय कडरबोना हुँदाहुँदै बरामद गरिएको लागूऔषध करिब १२ किलोमिटर दक्षिणमा पर्ने प्रहरी चौकी चन्हीमा लगिएको विषयमा स्थानीयस्तरमा चासो र प्रश्न उठेको छ। आखिर बरामदस्थलभन्दा टाढा रहेको प्रहरी चौकीमै उक्त लागूऔषध किन लगियो भन्ने विषयमा सम्बन्धित प्रहरी निकायले स्पष्ट पार्नुपर्ने देखिन्छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले बरामद गाँजा कानुनी प्रक्रिया पूरा गरी प्रहरी चौकी चन्हीमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

