शम्भु पासवान
पोखरिया, १० कार्तिक –प्रदेशभर अस्ताउँदै गरेको सूर्यदेवतालाई अर्घ दिँदै छठी माताको पूजा भव्य रूपमा मनेइएको छ । प्रदेशका विभिन्न नदी किनार, ताल र पोखरीमा श्रदालु भक्तजनहरुले पुराना परम्परा अनुसार पूजा गरेका छन् ।
चार दिनसम्म चल्ने व्रत–उपवास पूरा गरेपछि भक्तजनहरूले साँझको अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका छन । परम्पराअनुसार महिलाहरूले विशेष पोशाकमा उखु, केरा, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाई , लगायत अन्य पूजा सामग्री तयार पारेर पुजा स्थलमा तेश्रो दिन सांझ पाख अस्ताउँदो सूर्यलाई अर्घ दिने चलन रहेको छ ।

स्थानीय समाजसेवी रासलाल पासवानले भने, “छठ पर्व हाम्रो संस्कृति र धार्मिक विश्वासको प्रतीक हो। सूर्यलाई अर्घ दिनाले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ।” उनका अनुसार भाकल गरे पश्चात सन्तान प्राप्ति , रोग ब्याधि निको हुने, विशेषतःचर्मरोग छिटो निको हुने पनि जन विश्वास रहेको बताएका छन्।
पूजा कार्यक्रम अन्तर्गत परम्परागत गीत, भजन र नृत्य तथा संस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको ठाउँ ठाउँबाट हाम्रा सहकर्मीहरुले जानकारी दिएका छन् । स्थानीय बासिन्दा र व्यवसायीले पनि यस दिनलाई पर्यटन प्रवर्द्धन र स्थानीय व्यवसायको अवसरका रूपमा लिएको जनाएका छन् ।
धार्मिक विशेषज्ञहरूले भने, “छठ पर्वले पारिवारिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचान प्रोत्साहन गर्ने मात्र नभई नयाँ पुस्तालाई परम्परा र धार्मिक चेतना सिकाउने महत्वपूर्ण अवसर प्रदान गर्दछ।”
आजको पूजा कार्यक्रम अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै समापन भएको छ , जसमा हजारौं भक्तजनले श्रद्धा र आस्था प्रकट गरेका छन्।
यता , स्थानीय प्रशासनले सार्वजनिक सुरक्षा, सरसफाई र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ । भक्तजनहरूको सहजता र सुरक्षा सुनिश्चित गर्न विभिन्न स्थानमा सुरक्षाकर्मी समेत परिचालन गरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

