सर्वदलीय बैठकपछि सुरुङ्गामा शान्ति-सद्भाव र्‍याली, संयम अपनाउन सबैलाई आग्रह

समता खवर सम्बादाता ।
सुरुङ्गा, १५ साउन ।
देशका विभिन्न स्थानमा पछिल्लो समय भएका घटनाक्रमको प्रभाव स्थानीय तहसम्म पर्न सक्ने आकलन गर्दै सुरुङ्गा नगरपालिकाले बिहीबार सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरेको छ। बैठकले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै शान्ति–सद्भाव र्‍यालीसमेत निकालेको छ ।


कार्यवाहक नगर प्रमुख रुद्रबहादुर कार्कीको संयोजकत्वमा बसेको बैठकमा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक अगुवा, पत्रकार तथा स्थानीयवासीको उल्लेखनिय सहभागिता थियो ।
बैठकपछि नगरपालिकाबाट सुरु भएको शान्ति–सद्भाव र्‍यालीले नगरपालिकाको कुशहा र कदमाहा बजार क्षेत्रको परिक्रमा गर्दै सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी भाइचाराको सन्देश प्रवाह गरेको थियो ।


सुरुङ्गा नगरपालिकाको सभाहलमा बसेको बैठकले हालै देशका विभिन्न स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाले समाजमा विभाजन र तनाव सिर्जना गर्न नदिन सबै पक्ष सचेत रहनु पर्ने निष्कर्ष निकालेको निकालिएको हो ।


बैठकमा बक्ताहरुले समाजिक संजालहरु मर्फत अफवाह र भ्रामक सूचना फैलाउने गतिविधिबाट टाढा रहन तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको थियो ।


नगर तथा वडा तहमा राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय र नागरिक समाजबीच निरन्तर समन्वय र संवादलाई प्रभावकारी बनाईने निर्णय आज बसेको बैठकले गरेको छ ।


सम्भावित सामाजिक चुनौतीलाई समयमै व्यवस्थापन गर्दै सुरुङ्गामा शान्तिपूर्ण वातावरण कायम राख्न सबैको साझा प्रयास आवश्यक रहेको बैठकका सहभागीहरुले जनाएको छ ।


र्‍यालीमा सहभागीहरूले शान्ति, सद्भाव र सामाजिक एकताको पक्षमा ऐक्यबद्धता जनाउँदै कुनै पनि समुदायबीच द्वेष, हिंसा वा असहिष्णुता फैलाउने गतिविधिलाई अस्वीकार गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *