दुई पत्र, फरक निर्देशन: कांग्रेसको निर्णय प्रक्रियाबारे स्पष्टताको माग

दिपेन्द्र पासवान

राजविराज, ७ असोज। नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट सप्तरीका क्रियाशील सदस्यहरूको अधिवेशन सहभागिता सम्बन्धी विषयमा दुई दिनको अन्तरमा जारी भएका दुई पत्रमा फरक निर्देशन देखिएपछि स्थानीय नेता तथा कार्यकर्ताहरूमा तरङ्ग फैलिएको छ।

असोज ५ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी पत्रमा तीन जनालाई मतदानमा सहभागी नगराउन अनुरोध गरिएकोमा, असोज ७ गते सुरुङ्गा नगरपालिका–८ का श्यामप्रसाद साहलाई वडा अधिवेशन प्रक्रियामा सहभागी गराउन निर्देशन आएपछि स्थानीय पार्टी पंक्तिमा चर्चाको विषय बनेको छ।

केन्द्रीय कार्यालयले असोज ५, २०८३ मा केन्द्रीय निर्वाचन समितिलाई पठाएको पत्रमा सप्तरीका तीन जना क्रियाशील सदस्यलाई अनुशासनको कारबाहीमा परेको जनाउँदै मतदाता नामावलीबाट हटाउनुका साथै मतदानमा सहभागी नगराउन अनुरोध गरेको थियो।

सो पत्रमा सुरुङ्गा नगरपालिका–८ का निर्वाचित वडा अध्यक्ष तथा नगर सचिव श्यामप्रसाद साह, बलान बिहुल गाउँपालिका–४ का निर्वाचित वडा अध्यक्ष अनसारुल मियाँ र खडक नगरपालिकाका सिहेश्वर मण्डलको नाम उल्लेख छ।

तर असोज ७ गते केन्द्रीय कार्यालयले जिल्ला कार्यसमिति सप्तरीलाई पठाएको पत्रमा भने श्यामप्रसाद साहलाई १५औँ महाधिवेशनअन्तर्गत सुरुङ्गा नगरपालिका–८ को वडा अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय भएको उल्लेख छ।

घटनाको पृष्ठभूमिबारे पार्टीभित्र भने फरक धारणा रहेको नेताहरू बताउँछन्। केही पार्टी पदाधिकारीले यसअघि साहलगायतका व्यक्तिमाथि कारबाहीको माग पार्टीभित्रैबाट भएको र त्यसै प्रक्रियाअन्तर्गत जिल्ला अनुशासन समितिबाट सिफारिस भएको बताएका छन्।

ती पदाधिकारीहरूका अनुसार असोज ७ गते साहलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय आउनुमा पार्टीभित्रको आन्तरिक छलफल तथा विभिन्न पक्षबीचको सहमतिको भूमिका हुन सक्ने उनीहरूको बुझाइ छ। केहीले भने यसलाई पार्टीभित्रको गुटगत प्रतिस्पर्धाको सन्दर्भमा हेर्नुपर्ने धारणा राखेका छन्।

तर असोज ७ गतेको निर्णय कुनै पक्षको दबाब वा गुटगत प्रभावकै कारण भएको भन्ने कुरा केन्द्रीय कार्यालयको पत्रमा उल्लेख छैन र त्यसको स्वतन्त्र पुष्टि पनि भएको छैन। आधिकारिक पत्रमा साहको माग तथा कारबाही टुङ्गो लागेपछि सोहीअनुसार हुने आधारमा उनलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय भएको उल्लेख छ।

अर्कोतर्फ, असोज ५ गतेको पत्रमा साहसहित तीन जनालाई मतदानमा सहभागी नगराउन भनिएको भए पनि असोज ७ गतेको पत्रमा साहको मात्र नाम उल्लेख गरी उनलाई सहभागी गराउने निर्णय गरिएको छ। अनसारुल मियाँ र सिहेश्वर मण्डलका सम्बन्धमा सो पत्रमा कुनै नयाँ निर्णय उल्लेख गरिएको छैन।

दुई पत्रमा देखिएको फरक व्यवस्थाका कारण असोज ५ गतेको निर्देशनपछि असोज ७ गते साहका सम्बन्धमा नयाँ निर्णय कसरी भयो, त्यसका लागि कुन प्रक्रिया अपनाइयो र अन्य दुई जनाको हकमा पछिल्लो निर्णय के हो भन्ने विषयमा कांग्रेसको सम्बन्धित निकायबाट थप स्पष्टता आवश्यक रहेको स्थानीय नेता तथा कार्यकर्ताहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *