शम्भु पासवान
कुशहा, ३० चैत्र । सुरुङ्गा नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय मलहनमाले विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधारमा योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। विद्यालयले सोमबार आयोजना गरेको सिकाइ आदान–प्रदान कार्यक्रममा स्थानीय शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी तथा जनप्रतिनिधिहरूलाई कदरपत्रसहित सम्मान गरिएको हो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम कुमार महराले विद्यालयको समग्र सिकाइ उपलब्धि सन्तोषजनक भए पनि कक्षागत औसत उपलब्धिमा अझ सुधार गर्नुपर्ने आवश्यकता औँल्याए। “आगामी दिनमा सिकाइ उपलब्धि थप मजबुत बनाउन सबै पक्षको साझा प्रयास आवश्यक छ,” उनले भने।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख गिता चौधरी र विशिष्ट अतिथि उपप्रमुख रुद्रबहादुर कार्की रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गिता चौधरीले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह, विद्यालय र अभिभावकबीच सहकार्य अपरिहार्य रहेको बताइन्। “सिकाइ उपलब्धि सुधारका यस्ता प्रयासले सकारात्मक सन्देश दिन्छ,” उनको भनाइ थियो।
वडा नं. ८ का वडाध्यक्ष श्याम प्रसाद साहले शिक्षामा लगानी बढाउनु पर्नेमा जोड दिँदै विद्यालयलाई आवश्यक सहयोग गर्न वडा कार्यालय प्रतिबद्ध रहेको बताए। नगर प्रवक्ता शिवदर्शन पासवानले विद्यालय सुधारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालक दास चौधरीले समुदायको साथ र सहकार्यले नै विद्यालयको प्रगति सम्भव भएको उल्लेख गरे। “सिकाइ उपलब्धि बढाउन सबै सरोकारवालाको सक्रियता जरुरी छ,” उनले भने।
कार्यक्रममा नगर प्रमुख गीता चौधरीले अध्यक्ष बालक दास चौधरी र प्रधानाध्यापक राम कुमार महरालाई प्रशंसापत्रसहित सम्मान गरिन्। त्यसैगरी, सबल नेपाल का फिल्ड म्यानेजर रोशन कुमार मण्डल, संयोजक राधेश्याम राम तथा अशिष चौधरी, अशोक कुमार साह र चन्दन चौधरी लाई कदरपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा समाजसेवी तथा शिक्षक हृदय नारायण चौधरी, समाजसेवी बिजय साह लगायतले सिकाइ सुधारका लागि सामुदायिक सहभागिता अपरिहार्य रहेको धारणा राखेका थिए। विद्यालयले यस्ता कार्यक्रममार्फत सिकाइ गुणस्तर अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

