समता खबर सम्बादाता ।
सप्तरी, १ कार्तिक। सप्तरीको सुरुङ्गा नगरपालिका–८ स्थित ऐतिहासिक समसेरपुर धातीबजार धार्मिक आस्था, सांस्कृतिक परम्परा र स्थानीय विकासको नयाँ केन्द्रका रूपमा अगाडि बढ्न थालेको छ। भव्य कलश यात्रा र सांस्कृतिक उत्साहका बिच नवनिर्मित श्री माँ दुर्गा भगवती मन्दिरको उद्घाटन भएसँगै यस क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रयास सुरु भएको हो।
मन्दिरको उद्घाटन गर्दै मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले मन्दिर परिसरको ६ कठ्ठा जग्गालाई व्यवस्थित गरी भौतिक पूर्वाधार विस्तार गर्न प्रदेश सरकारका तर्फबाट रु. एक करोड विनियोजन गर्ने घोषणा गरेका छन्। मन्त्री पटेलकाले धार्मिक सम्पदाको जगेर्ना, पर्यटकीय पूर्वाधारको निर्माण र स्थानीय युवाहरूलाई प्रदेशभित्रै उद्योग स्थापना गरी रोजगारी उपलब्ध गराउने कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए।
मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका अध्यक्ष चन्द्रनारायण चौधरीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा धार्मिक विकाससँगै क्षेत्रगत पूर्वाधार निर्माणका मुद्दाहरू समेत उठेका छन्। कार्यक्रममा मधेस प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले कुशहा–बेल्ही सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण ढिलाइ भइरहेको भन्दै आक्रोश व्यक्त गरे र कामलाई तत्काल गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए। यस्तै सुरुङ्गा–८ का वडाध्यक्ष श्यामप्रसाद साह र धातीबजार व्यवस्थापन समितिका अध्यक्ष शुकदेव चौधरीले वि.सं. २०५० देखि सञ्चालनमा रहेको धातीबजारको ऐतिहासिक महत्त्व दर्शाउँदै व्यापारिक गतिविधि प्रवर्द्धन र दीर्घकालीन पूर्वाधार योजना आवश्यक रहेको बताए।
दुर्गापूजाको अवसरमा मन्दिर परिसरमा आयोजित परम्परागत झिझिया प्रतियोगिताले समारोहमा थप सांस्कृतिक आकर्षण थपेको छ। अष्टमीका दिन अन्तिम प्रतिस्पर्धा हुने सो प्रतियोगिताका विजेता समूहहरूलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। जसअन्तर्गत प्रथम हुने समूहलाई समाजसेवी विनोद ठाकुरले २५ हजार ५०० रुपैयाँ, दोस्रो हुने समूहलाई मुसहरनिया एजुकेसनल एकेडेमीका सञ्चालक रामरायण साहले १५ हजार ५५ रुपैयाँ र तेस्रो हुने समूहलाई स्थानीय एक दन्त चिकित्सकले ११ हजार ५०० रुपैयाँ नगद पुरस्कार प्रदान गर्नेछन्। साथै अन्य दुई समूहलाई जनही ७ हजार ५५५ रुपैयाँका दरले सान्त्वना पुरस्कार दिइने आयोजकले जनाएका छन्।
नवनिर्मित मन्दिर र प्रदेश सरकारको बजेटबाट निर्माण हुने प्रस्तावित सामुदायिक भवनले धार्मिक अनुष्ठान र सामाजिक कार्यहरू सम्पादन गर्न सहज बनाउनेछ। यस पहलले समग्र समसेरपुर क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा दीर्घकालीन योगदान पुर्याउने विश्वास स्थानीयवासीले लिएका छन्।

