रामनाथ राम
राजविराज,४ असोज । जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा संविधान तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमा राजविराजमा सुरक्षा निकाय, राजनीतिक दल, शैक्षिक संस्था, नागरिक समाज, युवा तथा विभिन्न समुदायको सहभागितामा र्याली निकालिएको हो।
र्यालीमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरूको सहभागिता थियो। त्यसैगरी विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि, युवा, विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको पनि उपस्थिति रहेको थियो।
राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय, शिव बोर्डिङ स्कुललगायत विभिन्न शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीहरू राष्ट्रिय झण्डा र दिवससम्बन्धी नारासहित र्यालीमा सहभागी भएका थिए।
र्यालीले राजविराज बजारका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। सहभागीहरूले संविधान, राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता तथा सामाजिक सद्भावसँग सम्बन्धित नारामार्फत दिवसको सन्देश प्रवाह गरेका थिए।
विभिन्न जातजाति, समुदाय र पेशामा आबद्ध नागरिकहरू एउटै राष्ट्रिय पर्वका अवसरमा सहभागी हुनुले सामाजिक सद्भाव र आपसी एकताको सन्देश दिएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका क्रममा संविधानले सुनिश्चित गरेका नागरिक अधिकार, समानता, सामाजिक न्याय, समावेशिता, स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र कार्यान्वयनको आवश्यकतामाथि पनि जोड दिइएको थियो।
विशेषगरी विद्यार्थी तथा युवाको सहभागिताले नयाँ पुस्तामा संविधान, लोकतन्त्र, राष्ट्रियता र नागरिक अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ।
विविध जातजाति, भाषा, धर्म र समुदायको बसोबास रहेको सप्तरीमा राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको र्यालीले विविधताबीचको एकता, सहअस्तित्व र सामाजिक सद्भावको सन्देश दिएको आयोजक तथा सहभागीहरूको भनाइ छ।

