सप्तरीमा दुई राउन्ड गोलीसहित दुई युवा पक्राउ, अनुसन्धान जारी

सप्तरी, १२ असार। सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बलान बिहुल गाउँपालिका–३ निवासी ३२ वर्षीय सुभाष कुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार दिउँसो करिब ४ बजे बलान बिहुल गाउँपालिका–३ अन्तर्गत टिकुलिया–बेल्ही सडक खण्डमा रहेको बाँसको टहरा (मचान) मा शंकास्पद अवस्थामा बसेका उनीहरूलाई प्रहरीले जाँच गरेको थियो। शरीर खानतलासीका क्रममा सुभाष कुमार पासमानको साथबाट ८ एमएम लेखिएको दुई राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार पक्राउ परेका दुवै जनामाथि खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *