सप्तरीमा चट्याङको कहर : बाबुछोरीको मृत्यु, एक महिला घाइते

दिपेन्द्र पासवान

राजविराज, ३० भदौ । सप्तरीमा मंगलबार परेको वर्षासँगै चट्याङले ठूलो मानवीय क्षति गरेको छ। जिल्लाको बोदे बरसाइन नगरपालिकामा चट्याङ लागेर बाबुछोरीको मृत्यु भएको छ भने कञ्चनरुप नगरपालिकामा एक महिला घाइते भएकी छन्।

बोदे बरसाइन नगरपालिका–अमरैयामा धानखेतमा झार गोड्न पुगेका ५५ वर्षीय भोला साह र उनकी १८ वर्षीया छोरी मधुकुमारी साहको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेका अनुसार वर्षासँगै परेको चट्याङ लागेपछि खेतमै ढलेका उनीहरूको मृत्यु भएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवैको शव परिवारको जिम्मा लगाइएको उनले बताए।

बाबुछोरीको एकैपटक मृत्यु भएपछि अमरैयामा शोक छाएको छ।

यस्तै, कञ्चनरुप नगरपालिका–११ भुवनपट्टीमा चट्याङ लागेर ४५ वर्षीया दुख्नी देवी विश्वकर्मा घाइते भएकी छन्।

स्थानीयका अनुसार वर्षाका बेला घरअगाडि सडकमा उभिएका बेला विश्वकर्मालाई चट्याङ लागेको थियो। स्थानीयले तत्काल उद्धार गरी उनलाई उपचारका लागि धर्मेश्वर अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा कार्यरत चिकित्सक डा. सुल्तानका अनुसार विश्वकर्माको अवस्था सामान्य रहेको छ। उनको अस्पतालमै उपचार भइरहेको छ।

मंगलबार बिहानदेखि सप्तरीका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ। वर्षाले धानबालीका लागि राहत पुगे पनि चट्याङका घटनाले स्थानीयवासीमा त्रास बढाएको छ।

वर्षा र चट्याङका बेला खेत, खुला स्थान तथा रूखमुनि नबस्न र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *