रामनाथ राम
राजबिराज, १३ भदौ । जिल्ला, राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (म.वि.व.ब.) मा विद्यार्थीहरुको अधिकार हनन भएको आरोप सहित आक्रोशित विद्यार्थीहरुले आज क्याम्पस प्रांगणमा नारा जुलुस गर्दै प्रशासनिक((परीक्षा शाखा)) कार्यालयमा ताला समेत लगाएका छन्।
क्याम्पस सभापति रञ्जित कुमार यादवका अनुसार, बिएड चौंथो वर्षको प्रायोगिक परीक्षा परिणाम प्रकाशनमा क्याम्पसले गम्भीर लापरबाही गरेको छ . फाराम भर्दा रसिद शुल्क तिरेका र प्रायोगिक परीक्षा सम्पन्न गरेका १८० जना विद्यार्थीहरुलाई अनुपस्थित देखाइएको हुँदा उनीहरुको भविष्य अन्धकारमा पारिएको यादवले बताएका छन्।
क्याम्पस एक विद्यार्थीले क्याम्पस प्रशासनले शुल्क लिएकै आधारमा उनीहरुको प्रायोगिक परीक्षा समावेश हुनु पर्नेमा, व्यवस्थापनको लापरबाही र गैरजिम्मेवारीपनका कारण १८० जना विद्यार्थी अनावश्यक पीडित बन्नु परेको बताएका छन्। यस घटनाले क्याम्पसको शैक्षिक विश्वसनीयता नै प्रश्नचिन्हमा परेको विद्यार्थीहरुको गुनासो छ।
अन्यायपूर्ण नतिजा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीहरु क्याम्पस प्रांगणमा नाराबाजी गर्दै आन्दोलित भएका हुन् । उनीहरुले प्रायोगिक नतिजा तुरुन्त सच्याई प्रकाशन गर्न, विद्यार्थीलाई भविष्यविहीन बनाउन खोज्ने जिम्मेवार निकायलाई कारबाही गर्न र यस्ता लापरबाही दुबारा नदोहोरिने व्यवस्था गर्न क्याम्पस प्रशासन संग माग गरेका छन्।
यसैबीच, क्याम्पस प्रशासन भने यस विषयमा मौन देखिएको छ। विद्यार्थीले कार्यालयमा तालाबन्दी गरेपछि बिएड दोश्रो बर्षमा अध्यनरत विधार्थीहरुको फर्म भर्ने वा समिट प्रक्रिया समेत प्रभावित भएको छ ।
विद्यार्थी आन्दोलन अझ चर्किन सक्ने चेतावनी दिँदै, आन्दोलनरत विद्यार्थीले भनेका छन् —“हामी हाम्रो भविष्यसँग सम्झौता गर्ने छैनौं, न्याय नपाए सम्म संघर्ष जारी रहनेछ।”
यो घटना शिक्षण संस्थामा देखिएको प्रशासनिक कमजोरी र जिम्मेवारीहीनता प्रति गम्भीर प्रश्न हो, जसले विद्यार्थीहरुको अधिकार सुरक्षित गर्ने सवालमा राज्य र शैक्षिक निकाय दुवैलाई चुनौती खडा गरेको छ।

