समता खवर सम्बादाता।
राजबिराज,६ असोज |लालु प्रसाद अग्रवालको अध्यक्षतामा सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। आगामी असोज १० गते निर्वाचन हुने तय भए पनि वाणिज्य उपाध्यक्ष र महासचिव पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि निर्वाचन प्रक्रिया नै नगरी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो।
अध्यक्षसहित अधिकांश पदमा एक/एक जनाको मात्रै उम्मेदवारी परेको थियो। वाणिज्य उपाध्यक्ष र महासचिव पदमा भने दुई/दुई जनाले उम्मेदवारी दिएका थिए।
वाणिज्य उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रामअशिष प्रसाद साह र महासचिव पदमा उम्मेदवारी दिएका भोगेन्द्र मिश्रले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएपछि कार्यसमिति सर्वसम्मत बनेको निर्वाचन समितिका संयोजक सतिश दत्तले जानकारी दिए।
उनका अनुसार कार्यसमिति सर्वसम्मत चयन भएपछि अब असोज १० गतेका लागि तय गरिएको निर्वाचन प्रक्रिया सञ्चालन नहुने भएको छ।
सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको अध्यक्षमा लालु प्रसाद अग्रवाल, उपाध्यक्ष (उद्योग) मा दुर्गानन्द प्रसाद साह, उपाध्यक्ष (वाणिज्य) मा अमृत कुमार संचेती, महासचिवमा सुरेन्द्र प्रसाद साह, सचिवमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोद काबरा र सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्धडा चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा दिलिप प्रसाद गुप्ता, सन्तोष कुमार सिन्हा, संजीव कुमार चौधरी, सन्तोष कुमार चौधरी, सुमन राज सिंह र अनिल प्रसाद सिंह चयन भएका छन्। महिला सदस्यमा अम्बिका कुमारी दहाल चयन भएकी छन्।
नयाँ कार्यसमितिले सप्तरीका उद्योगी, व्यवसायी तथा व्यापारीका समस्या समाधान, व्यवसायिक वातावरण निर्माण र उद्योग–व्यवसायको प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
लालु प्रसाद अग्रवालको अध्यक्षतामा सप्तरी उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन

