समता खवर सम्बादाता ।
सप्तरी, २२ असोज । सप्तरीको बलान बिहुल गाउँपालिका र भारतको बिहारबाट मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई लागूऔषध (ब्राउनसुगर) सहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका–५ रामनगर बस्ने २१ वर्षीय राकेश कुमार यादव र भारतको बिहार राज्य मधुवनी जिल्ला लौकहा थाना ग्राम बलुवा बजार पोष्ट बास्देवपुर–४ बस्ने २६ वर्षीय ईम्तियाज आलम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय बोदेबर्साइन सप्तरीको संयुक्त टोलीले बोदेबर्साइन नगरपालिका–५ बर्साइन बजारस्थित देउरी बाट बोदेबर्साइनतर्फ आउँदै गरेको म.प्र.०१–००६ प ०१३१ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ईम्तियाज आलमले लगाएको निलो रङको पाइन्टको खल्तीबाट प्लाष्टिकसहित ७६ ग्राम ८८० मिलिग्राम (प्लाष्टिक बाहेक ७० ग्राम) ब्राउनसुगरजस्तो देखिने गिलो पदार्थ फेला परेको हो।
लागूऔषध, डिजिटल तराजु र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखी सप्तरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।

