रौतहटमा एउटा सनसनीपूर्ण घटना घटेको छ। सुटकेसभित्र शव भेटिएकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ। बुधबार बिहान आफैलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो |
रौतहटको माधवनारायण नगरपालिका-६, माधोपुरकी २६ वर्षीया रुबी कुमारी साह गत शनिबार रातिदेखि बेपत्ता थिइन्। आइतबार बिहान उनको शव गौर नगरपालिका-५, टिकुलिया टोलमा एउटा सुटकेसभित्र फेला परेको थियो।
प्रहरीको अनुसन्धानबाट हत्यामा ३० वर्षीय लक्ष्मण पासवानको संलग्नता खुलेको थियो। पासवान र रुबी बाल्यकालदेखिका साथी र एउटै गाउँका बासिन्दा थिए|
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार, पासवानले बुधबार बिहान आफूलाई पेट्रोल छर्केर आगो लगाएका थिए। प्रहरीले उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। गम्भीर घाइते अवस्थामा काठमाडौं ल्याइएका उनको बुधबार साँझ ५:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
मृत्यु हुनुअघि लक्ष्मण पासवानले हिन्दी भाषामा रेकर्ड गरिएको साढे ९ मिनेट लामो भिडियो सन्देश सार्वजनिक गरेका थिए। सो भिडियोमा उनले रुबीको हत्या गरेको, शवलाई सुटकेसमा हालेको र अटो रिक्सामा राखेर फालेको स्वीकार गरेका छन्।
उनले भिडियोमा कक्षा १० मा पढ्दा नै आफूहरूले भागेर भारतको सीतामढीमा विवाह गरेको तर रुबीको परिवार, विशेषगरी उनकी आमाले यो सम्बन्धलाई अस्वीकार गरेको बताएका छन्। प्रहरीको प्रारम्भिक अनुमान अनुसार, यही पारिवारिक विवाद हत्याको प्रमुख कारण हुन सक्छ।
हत्याका मुख्य अभियुक्तको मृत्युसँगै यो घटनाको पूर्ण सत्य र रहस्य थप जटिल बनेको छ। यद्यपि, प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।

