पेस्तोल देखाएर ६/७ जनाले लगेको परिवारको आरोप, प्रहरी भन्छ–भारतीय प्रहरीले नियन्त्रणमा लिएको सूचना
दिपेन्द्र पासवान
राजविराज, ३० भदौ । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई मध्यराति घरबाटै लगिएको घटनाले स्थानीय क्षेत्रमा तनाव सिर्जना भएको छ। घटनामा परिवारले पेस्तोलधारी समूहको संलग्नता रहेको दाबी गरेको छ भने प्रहरीले अभिनन्दलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको प्रारम्भिक सूचना आएको जनाएको छ।
अभिनन्दका काका अमोद यादवका अनुसार सोमबार राति करिब १२ बजे ६/७ जनाको समूह घरमा पुगेको थियो। समूहले ढोका खोल्न लगाएर घरभित्र प्रवेश गरेपछि पेस्तोल देखाउँदै अभिनन्दलाई बाहिर निकालेर गेटबाटै लिएर गएको उनले बताए।
अमोदले समूहले घर घेराबन्दी गरेर अभिनन्दलाई लगेको दाबी गरे। ‘उठ्न भनेपछि उठ्यौं, उठ्नेबित्तिकै पेस्तोल ताके,’ उनले भने, ‘त्यसपछि मेरो भतिजालाई लिएर गए।’
परिवारले अभिनन्दलाई बलान नदीको बाटो हुँदै भारततर्फ लगिएको आशंका गरेको छ। घटनास्थल नेपाल–भारत सीमाबाट करिब पाँच सय मिटर मात्रै टाढा रहेको छ।
घटनाबारे प्रहरीलाई जानकारी गराए पनि समयमै प्रहरी नआएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्। मंगलबार उनीहरूले बेल्ही प्रहरी चौकीअगाडि प्रदर्शन गर्दै प्रहरी चौकी घेराउ गरेका छन्।

बलान बिहुल–४ का वडाध्यक्ष लक्ष्मीनारायण झाले घरबाटै युवकलाई उठाएर लगिनु गम्भीर घटना भएको बताए। प्रहरी चौकी र बीओपी नजिकै रहेको अवस्थामा यस्तो घटना हुनु चिन्ताको विषय भएको उनको भनाइ छ।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी रुपक खड्काले भने प्रारम्भिक सूचनाअनुसार अभिनन्द भारतमा गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले नियन्त्रणमा लिएर गएको जानकारी आएको बताए।
‘भारतमा गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको र भारतीय प्रहरीले लगेको प्रारम्भिक जानकारी आएको छ,’ खड्काले भने, ‘पेस्तोल बोकेर आएको कुरा हाम्रो जानकारीमा छैन। भारतीय प्रहरीले हामीसँग समन्वय पनि गरेको छैन।’
घटनाको वास्तविकता पत्ता लगाउन भारतीय प्रहरीसँग समन्वय भइरहेको सप्तरी प्रहरीले जनाएको छ।

