समता खवर सम्बादाता ।
कुशहा,२९ असोज । सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ता र नगर प्रहरीसहित आठ जनामाथि पत्रकारमाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता गरिएको छ।
पत्रकार अनिश शेखले मंगलबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गर्दै मेयर गुप्ता लगायतले आफूलाई जातीय आधारमा अपमान गर्दै शारीरिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन्।
जाहेरी अनुसार मंगलबार दिउँसो करिब २ बजे कञ्चनरुप नगरपालिकाको परिसरभित्र समाचार संकलनको क्रममा मेयर गुप्ताले पत्रकार शेखमाथि जातीय अपशब्द प्रयोग गर्दै हातपात गरी नगरपालिकाबाट निकालिएको उल्लेख छ।
शेखका अनुसार उनी सो समयमा नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूले चार महिनादेखि तलब नपाएको विरोधमा थालेको आन्दोलनको समाचार संकलन गर्दै थिए। सोही क्रममा मेयर गुप्ता आफैं अग्रसर भएर नगर प्रहरीहरू सिर्जना भट्टराई, मनिष चौधरी, सुरेश यादव, सरोज सदा, सुदिप चौधरी, अमरेन्द्र साह र नगर शिक्षा समितिका सदस्य प्रमोद कटुवाललाई लगाएर कुटपिट गरेको आरोप जाहेरीमा उल्लेख छ।
पत्रकार शेखले कुटपिटका क्रममा आफ्नो मोबाइलमा रहेका भिडियो तथा फोटो सामग्री मेटाइएको पनि दाबी गरेका छन्। उनले जाहेरीमा घटनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतका विभिन्न कसुर अपराध भएको उल्लेख गर्दै सोही अनुसार कारबाहीको माग गरेका छन्।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेख बहादुर बिष्टले पत्रकार शेखको जाहेरी दर्ता गरिएको पुष्टि गर्दै आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

