राजविराज, २ कार्तिक । आगामी तिहार र छठ पर्वलाई लक्षित गर्दै सस्र्मी जिल्ला प्रशासन कार्यालयले चाडपर्वका बेला शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबैमा अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी दुर्गाराज पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कि २०८२ सालको शुभ दिपावली (तिहार), नेपाल सम्बत र छठ पर्वको अवसरमा सबैले मर्यादित र सभ्य ढङ्गले पर्व मनाउन आग्रह गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “भुइँचम्पा, पटाका, आतिशबाजी, विष्फोटक तथा ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण निषेध गरिएको छ।” त्यस्ता कार्यमा संलग्न पाइए कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
त्यसैगरी, तिहारमा देउसीभैलोको कार्यक्रम राति १० बजेभित्र सक्न अनुरोध गरिएको छ भने प्लास्टिकका फूलगुच्छा आयात, बिक्री वितरण वा भण्डारण नगर्न समेत भनिएको छ।
यस्तै, तिहार र छठ पर्वमा जुवा, तास, लागुऔषध सेवन, हो–हल्ला तथा झगडा गरी शान्ति–सुरक्षा भंग गर्ने कार्य नगर्न समेत प्रशासनले सबैमा आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “कानुन विपरीतका गतिविधि भएका खण्डमा सम्बन्धित व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गरिनेछ।”

