रामनाथ राम
राजविराज,३० भदौ । सामाजिक सुरक्षा भत्ता नवीकरण प्रक्रियालाई सहज र छिटो बनाउन सप्तरीको विष्णुपुर गाउँपालिकाले आफ्ना सातवटै वडा कार्यालयमा रेटिना स्क्यान डिभाइस उपलब्ध गराएको छ।
गाउँपालिकाको पञ्जीकरण शाखाको अगुवाइमा वडा नं. १ देखि ७ सम्मका वडा सचिवलाई सामाजिक सुरक्षा भत्ता नवीकरणमा आवश्यक पर्ने आइरिस स्क्यान डिभाइस हस्तान्तरण गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्द तथा अध्यक्ष उमेशप्रसाद यादवको उपस्थितिमा वडा सचिवहरूलाई उपकरण प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
सामाजिक सुरक्षा भत्ता लिने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलितलगायत लक्षित वर्गले नवीकरणका क्रममा पहिचान तथा जैविक विवरण प्रमाणीकरण गराउनुपर्ने हुन्छ। यसअघि प्राविधिक समस्या आउँदा सेवाग्राहीले लामो समय कुर्नुपर्ने तथा थप झन्झट व्यहोर्नुपर्ने अवस्था रहेको गाउँपालिकाको भनाइ छ।
अब वडा कार्यालयमै उपकरण उपलब्ध भएपछि नवीकरण प्रक्रिया छिटो हुने र विशेषगरी वृद्धवृद्धा तथा अशक्त सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दले प्रविधिको प्रयोगमार्फत नागरिकलाई सरल र प्रभावकारी सेवा दिने उद्देश्यले उपकरण वितरण गरिएको बताए। सामाजिक सुरक्षा भत्ता जस्तो संवेदनशील सेवामा सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् भन्ने उद्देश्य रहेको उनको भनाइ छ।
गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले नागरिकलाई सहज सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिकता भएको बताए। उनले वडा तहबाटै प्रविधिमैत्री सेवा विस्तारलाई अघि बढाइने बताए।
गाउँपालिकाले उपकरण प्रयोग र सामाजिक सुरक्षा भत्ता नवीकरण प्रक्रियाबारे वडा सचिव तथा सम्बन्धित कर्मचारीलाई आवश्यक जानकारीसमेत दिएको जनाएको छ।

