समता खवर सम्बादाता ।
कुशहा,२८ असोज । नेपाल प्रहरी, इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीको आयोजनामा “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न उक्त कार्यक्रम समुदाय र प्रहरी बीचको आपसी सम्बन्ध मजबुत पार्दै अपराध नियन्त्रण र सामाजिक सुरक्षा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ईलाका प्रहरी कार्यालयका ईन्सपेक्टर गजेन्द्र रायाले बताए ।
“हर प्रहर गाउँ र नगरी , टोल टोलमा नेपाल प्रहरी” भन्ने नारा सहित सञ्चालन भएको उक्त कार्यक्रमले प्रहरी र नागरिक बीच प्रत्यक्ष संवाद र सुझाव आदान प्रदान गरिएको ईन्सपेक्टर रायाले जानकारी दिएको छ । उनका अनुसार यस सुनुवाई कार्यक्रममा प्रहरी सेवाको पहुँच, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने विषयमा सहभागीहरूले खुला रूपमा आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सामाजिक संस्था, सरोकारवाला समूहका प्रतिनिधि र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता थियो ।
सहभागीहरूले आफ्नो समुदायमा देखिएका सुरक्षा सम्बन्धी समस्या, सामाजिक अपराधका चुनौतीहरू तथा प्रहरी सेवा प्रतिको अपेक्षा सहितको सुझाव व्यक्त गरेका थिए ।
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख रायाले कार्यक्रममा सम्बोधन गर्दै समुदाय र प्रहरीबीचको सहकार्य नै स्थायी शान्ति र सुरक्षाको आधार भएको बताए । उनले भने, “प्रहरी र नागरिक बीच विश्वासको सम्बन्ध बिना सुरक्षाको भावना सिर्जना हुन सक्दैन । समुदायको सहयोगले मात्र अपराध नियन्त्रण र सामाजिक स्थायित्व सम्भव हुन्छ।”
त्यस्तै, कार्यक्रमका सहभागीहरुले स्थानिय सरकार, सामाजिक संस्थासँग मिलेर जनचेतना अभिवृद्धि, मादक पदार्थको दुरुपयोग नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण तथा बालबालिका माथि हुने हिंसाको रोकथामका विषयमा अभियान सञ्चालन गर्नु पर्ने सुझाव दिएका थिए ।
सहभागीहरुले प्रहरीसँगको सहकार्यले समुदायमा विश्वास र पारदर्शिता बढाउने र नागरिक अधिकारको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले स्थानिय नागरिकहरुको सुरक्षा, सचेतना र सामाजिक जिम्मेवारीको भावना विकास गर्न यस्ता कार्यक्रम निरन्तर गरिनुपर्ने सुझाव समेत दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, सप्तरी र इलाका प्रहरी कार्यालय कडरबनाको संयुक्त आयोजनामा उक्त कार्याक्रम भएकोे थियो ।

