राजबिराज, २८ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकामा स्थानीय पत्रकार माथि भएको हातपात घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरी र ‘अवलोकित दैनिक’ पत्रिकाले कडा आपत्ति जनाएका छन् ।
राजविराज स्थित पत्रकार महासंघ शाखाले सोमबार विज्ञप्ति जारी गर्दै पत्रकारद्धय मनोज कुमार माझी र अनिश शेख माथि गरिएको दुव्र्यवहार र हातपात प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । माझी ‘प्राइम टेलिभिजन’ र शेख ‘अवलोकित दैनिक’ का संवाददाता हुन् ।
महासंघका अध्यक्ष श्रवणकुमार देवद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता माथि आघात पुग्ने गरी सञ्चारकर्र्मी माथि गरिएको दुव्र्यवहार अस्वीकार्य र निन्दनीय छ ।”
विज्ञप्तिमा शम्भुनाथ नगरपालिका ११ स्थित एक जग्गामा अदालतको फैसला कार्यन्वयन गराउन प्रहरीकै उपस्थितीमा एक ब्यक्तिको जग्गामा घेराबेराको काम भईरहेको बिषयमा रिपोर्टिङ्ग गर्न पुगेका पत्रकार माझी उपर केही ब्यक्तिले गरेको हातपात र कंचनरुप नगरपालिकामा शिक्षकहरूको तलव रोकिएको विषयमा जनप्रतिनिधी बीच भईरहेको बार्ताको रिपोर्टिङ्गमा खटिएका पत्रकार शेख उपर त्यहाँका नगरप्रमुख ललन प्रसाद गुप्ताले गालीगलौज गर्दै दुब्र्यवहार गरेको घटना प्रति घोर भत्र्सना गरको छ ।
महासंघले घटनाको दोषीलाई पहिचान गरी तत्काल कानूनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीसंग माग गरेको छ । साथै, पत्रकारहरूका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सोही बिज्ञप्ति मार्फत आग्रह समेत गरिएको छ ।
त्यसैगरी, कञ्चनरुप–८ बेयरियार स्थित ‘अवलोकित दैनिक’ ले पनि आफ्ना संवाददातामाथि भएको दुव्र्यवहारप्रति कडा आपत्ति जनाएको छ । सम्पादक भोला पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई समाचार संकलनकै क्रममा अभद्र व्यवहार गर्दै मोबाइल खोसिएको र धम्की दिइएको घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप रहेको जनाईएको छ ।
विज्ञप्तिमा, शिक्षक आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकार शेखमाथि नगरप्रमुख ललन प्रसाद गुप्ताले गालिगलैज गरेको र मोवाईल खोसी भिडियो डिलिट गरी दुब्र्यहार गरको घटना निन्दनिय रहेको जनाएको छ ।
उनले यस घटनाले संबिधानको धारा १७ले सुनिश्चित गरेको अभिब्यक्ति र प्रेस स्वतन्त्रतामाथीको प्रत्यक्ष हस्तक्षेप रहेको जनाउँदै लोकतान्त्रिक मुल्य र पत्रकारिता स्वतन्त्रतालाई ठाडो चुनौति दिएको बिज्ञप्ती मार्फत बताएका छन् ।
अवलोकित दैनिकले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न नेपाल पत्रकार महासंघ,स्थानीय प्रशासन, जिल्ला प्रहरी कार्यालय र गृह मन्त्रालयको ध्यानाकर्षण समेत गराएका छन् ।
यता, नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रतामाथि पुनः आक्रमण दोहोरिए पत्रकार समुदाय सङ्गठित रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “हामी स्वतन्त्र प्रेसमाथि कुनै पनि प्रकारको हस्तक्षेप सह्य गर्नेछैनौं।”
राजविराज, सुरुङ्गा र कञ्चनरुप क्षेत्रका सञ्चारकर्मीहरूले पनि उक्त घटनाप्रति आक्रोश व्यक्त गर्दै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।

