समता खबर सम्बादाता ।
काठमाडौँ, १० भदौ । राष्ट्रिय मुक्ति पार्टीले काठमाडौँमा जारी उखु किसान आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ । पार्टीले सरकारले किसान विरोधी नीति र निर्णय तत्काल फिर्ता लिनुपर्नेमा जोड दिँदै किसानका जायज माग पूरा गर्न सरकारले ठोस कदम चाल्न आग्रह गरेको छ ।
पार्टी अध्यक्ष राजेन्द्र महतोद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, “देशको अर्थतन्त्र र खाद्य सुरक्षाको मेरुदण्ड किसानलाई निरन्तर उपेक्षा गर्दै आएको सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ मा उखु किसानलाई दिइने अनुदान नै विनियोजन नगर्नु र गत वर्षको अनुदान समेत आधा कटौती गर्नु राष्ट्रघाती र किसानविरोधी कदम हो।”
पार्टीले किसानको उत्पादन लागत बढ्दो क्रममा मूल्य निर्धारणमा उनीहरूको सहभागिता नहुनु अन्यायपूर्ण भएको ठहर गर्दै विज्ञप्तिमा भनिएको छ, “बीउ–मल अभाव, सुख्खा, बाढी र प्राकृतिक प्रकोपले किसान झन् समस्यामा परिरहेका छन् । सरकारले सहयोग गर्नुको सट्टा किसानलाई ऋणको दलदल र पलायन तर्फ धकेलिरहेको छ।”

राष्ट्रिय मुक्ति पार्टीले सरकारसँग तत्काल उखु किसानलाई दिइने अनुदान पुनःस्थापना गरी बक्यौता रकम भुक्तानी गर्न, मल, बीउ, सिचाइ र यान्त्रीकरणमा अनुदान वा निःशुल्क पहुँच सुनिश्चित गर्न, कृषक उत्पादनको न्यूनतम मूल्य कायम गर्न कृषि मूल्य निर्धारण आयोग गठन गर्न तथा किसान ऋण मिनाहा, बीमा र संकटमा राहत सुनिश्चित गर्ने कृषक सुरक्षा ऐन निर्माण गर्न बिज्ञप्ती मार्फत माग गरेको छ ।
पार्टीले आन्दोलनरत किसानलाई नैतिक र राजनीतिक समर्थन जनाउँदै सम्पूर्ण शक्तिलाई किसान अधिकार र राष्ट्रिय खाद्य सुरक्षाको पक्षमा ऐक्यबद्ध हुन आह्वान समेत गरेको छ । विज्ञप्तिमा, किसानको अधिकार रक्षा गर्नु र उत्पादनलाई उचित मूल्यमा सुनिश्चित गर्नु नै राष्ट्रिय हित भएको ठहर गर्दै सरकारको बेवास्ता केवल किसान माथिको अन्याय मात्र नभई, राष्ट्रको भविष्य माथिको आक्रमण भएको उल्लेख गरेका छन् ।

