“१२ वर्षको सजाय भोग्दै गरेका कैदीको प्रेमकथा : श्रीमती गर्भवती, समाज चकित”

दिपेन्द्र पासवान

सप्तरी,१७ कार्तिक। सप्तरीको महादेवा गाउँपालिका–४ की १९ वर्षीया ज्योति मुखिया गर्भवती छिन्। उनको पेटमा डेढ महिनाको बच्चा छ, तर उनका श्रीमान् २४ वर्षीया शत्रुघन मुखिया अहिले राजविराज कारागारमा १२ वर्षको सजाय भोगिरहेका छन्। आरोप छ, उनले जबरजस्ती करणी गरेका थिए। तर उनीहरू भन्छन्, “हामीबीच प्रेम थियो, अपराध होइन।”

यो कथा केवल एउटा मुद्दा होइन, यो प्रेम, कानून र समाजबीचको गहिरो संघर्ष हो।

दुई वर्षअघि अदालतले शत्रुघनलाई १२ वर्ष कैदको सजाय सुनायो। अदालतको दृष्टिमा त्यो “सहमति बिना गरिएको यौन सम्पर्क” थियो, किनकि त्यतिबेला ज्योति नाबालिग थिइन्। तर, ज्योति भन्छिन् , “त्यो जबरजस्ती होइन थियो, हामीबीच प्रेम थियो। गाउँ र परिवारले दबाब दिएपछि मैले पनि उजुरीमा सही गरेँ, तर आज त्यही कागज मेरो जीवनको सबभन्दा ठूलो गल्ती बन्यो।”

शत्रुघनले भने अदालतमा नै बयान दिएका थिए “हामी प्रेममा थियौं, विवाह गर्ने सोचमै थियौं।” तर कानूनी दृष्टिले उमेर नपुगेकी किशोरीसँगको यौन सम्बन्ध स्वतः अपराध ठहरियो। त्यसपछि उनी जेल चलान भए।

गत भदौ २५ गते कारागारमा भएको कैदी आन्दोलनका क्रममा उनी भागे। फरार भएपछि भोलिपल्टै भदौ २६ गते उनले स्थानीय कमलामाई मन्दिरमा ज्योति मुखियासँग विवाह गरे। गाउँका भरभलादमीहरू उपस्थित थिए, मन्दिरका घण्टाहरू बजिरहेका थिए, र उनीहरू दुबै राजीखुसीले मण्डपमा उभिएका थिए।

तर यो विवाह केवल मन्दिरसम्म सीमित रहेन। कारागार प्रशासनले सूचना जारी गर्‍यो “२० असोजसम्म नफर्किए थप कानूनी सजाय हुनेछ।” त्यसपछि २० असोजकै दिन शत्रुघन आफैं कारागारमा उपस्थित भए र आत्मसमर्पण गरे। जेलर गंगालाल योगीका अनुसार, “शत्रुघनले कारागार प्रशासनको सूचना पालना गर्दै इमान्दारी देखाएका छन्। उनी अहिले पनि सजाय भुक्तान गरिरहेका छन् र अझै करिब १० वर्ष बाँकी छ।”

त्यसपछि ज्योति बेसहारा भइन्। न त श्रीमान साथमा छन्, न त परिवारको समर्थन छ। उनका ससुरा रघुले आजसम्म विवाह स्वीकृति दिएका छैनन्। ज्योति भन्छिन्, “बुवाआमाले र गाउँलेहरूले दबाब दिएर मैले गलत बयान दिएँ। अहिले सबैले मलाई दोषी ठान्छन्। तर मलाई थाहा छैन , श्रीमतीले श्रीमानसँग सुत्दा पनि जेल जान्छन् र सर?”

ज्योति अहिले पनि विश्वास गर्छिन् , “शत्रुघनले मसँग कहिल्यै जबरजस्ती गरेनन्।” उनले आँसु झार्दै भनिन्, “प्रेमकै कारण म उनको प्रतीक्षा गरिरहेकी छु। मेरो गर्भमा उनको बच्चा छ, म चाहन्छु अदालतले न्याय देओस्।”

कानून व्यवसायी सतीश कुमार दत्त भन्छन्, “मुलुकी ऐन अपराध संहिता २०७४ अनुसार २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन मिल्दैन। तर यदि दुवै पक्ष सहमत छन् र समाजले पनि विवाहलाई स्वीकार गरिसकेको छ भने अदालतले परिस्थितिअनुसार पुनर्विचार गर्न सक्छ।” उनका अनुसार, यो विषय कानूनी रूपमा संवेदनशील भए पनि मानवीय पक्ष पनि गम्भीर छ।

समाजमा भने यो कथा अहिले बहसको विषय बनेको छ। कसैले यसलाई “प्रेमकथा” भन्छन्, कसैले “कानूनी अपराध।” तर दुवैबीचको रेखा अझै अस्पष्ट छ। गाउँका केही बुढापाकाहरू भन्छन्, “प्रेम केटा–केटीबीच भयो, तर कानूनी झन्झटले उनीहरूलाई अपराधी बनायो।”

कारागारको फलामे ढोकाभित्र अहिले पनि शत्रुघन आफ्नी श्रीमतीको प्रतीक्षा गरिरहेका छन्। बाहिर, गर्भवती ज्योति आफ्नो गर्भ र न्यायबीच सन्तुलन खोज्दै छन्। उनको आँसु र प्रश्नले समाजलाई चुनौती दिइरहेको छ , “यदि हामीबीच सहमति थियो भने, त्यो प्रेम कसरी अपराध बन्यो?”

शायद यो कथा एउटा न्यायिक निर्णयभन्दा गहिरो छ ,यो एउटा मानवीय पीडा हो, जसमा प्रेमले कानूनसँग टक्कर लिएको छ।

राजविराजको शान्त सहरमा अहिले पनि मानिसहरू यसै घटनाको चर्चा गर्छन्। कसैलाई यो प्रेमको साहसिक उदाहरण लाग्छ, कसैलाई कानूनी त्रुटि। तर, ज्योति भने भन्छिन् , “हामीले कसैलाई पीडा दिएको छैन, हामीले त बस् प्रेम गरेको मात्र हो।”

उनको यो वाक्य सुन्दा लाग्छ, कहिलेकाहीँ प्रेम र अपराधबीचको सीमाना कानूनले होइन, समाजले कोरेको हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *