समुदायमै क्षयरोग खोज्ने स्वास्थ्य चौकीको नयाँ प्रयास

समता खवर सम्बादाता।

कुसहा ,८ माघ। सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ८ मा सामाजिक लाज, डर र जानकारीको अभावका कारण उपचारबाट टाढा रहेका क्षयरोगका बिरामीलाई लक्षित गर्दै समुदायस्तरीय खोजपडताल अभियान सुरु गरिएको छ। बिहीबार क्षयरोग खोजपडताल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्दै स्वास्थ्यकर्मीहरूले समुदायमै पुगेर बिरामी पहिचान र उपचारमा जोड दिएका हुन्।

सुरुङ्गा नगरपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा मल्हनमा स्वास्थ्य चौकीको आयोजनामा सञ्चालित कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाले प्राविधिक सहयोग गरेको थियो। कार्यक्रममा समुदायस्तरमा रहेका सम्भावित क्षयरोगका बिरामीबाट खकार संकलन गरी जीन–स्पोट परीक्षणमार्फत रोग पहिचान गर्ने र पहिचान भएका बिरामीलाई निःशुल्क उपचार सेवामा ल्याउने लक्ष्य लिइएको छ।

मल्हनमा स्वास्थ्य चौकी प्रमुख रामबिलास चौधरीका अनुसार हाल केही क्षयरोगका बिरामी नियमित औषधि सेवन गरिरहेका भए पनि सामाजिक कारण र भ्रमका कारण उपचार केन्द्रसम्म आउन नचाहने अवस्था देखिएको छ। “त्यस्ता बिरामीसम्म स्वास्थ्य सेवा आफैं पुग्ने उद्देश्यले जनचेतना र खोजपडताल अभियान सुरु गरिएको हो,” उनले बताए।

क्षयरोग खोजपडताल सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी स्थानीयहरु।

६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा साबिकका ९ वटा वडाबाट प्रत्येक वडामा १०–१० जना स्थानीयलाई परिचालन गरिनेछ। उनीहरूले घरघरमै पुगेर क्षयरोगका लक्षणबारे जानकारी दिने, सम्भावित बिरामी पहिचान गर्ने र परीक्षणका लागि स्वास्थ्य संस्थासम्म ल्याउन सहजीकरण गर्नेछन्।

वडा नं. ८ का वडाध्यक्ष श्यामप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरुङ्गा नगरपालिकाकी नगर प्रमुख गीता चौधरी प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, समाजसेवी तथा बुद्धिजीवीसहित ४२ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख दशन चौधरी, क्षयरोग फोकल पर्सन भुषण सुनारैत, मल्हनमा स्वास्थ्य चौकी प्रमुख रामबिलास चौधरी तथा क्षयरोग फोकल पर्सन कविता चौधरीले सहजीकरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *