लौकही गोलीकाण्ड: इन्सेकले स्थलगत अनुगमन सम्पन्न, सात दिनभित्र छानबिन प्रतिवेदन सार्वजनिक हुने

विराटनगर, २१ पुस । कोशी गाउँपालिका–१, लौकहीमा सशस्त्र प्रहरीको गोली प्रहारबाट ५० वर्षीय विजय साहुको मृत्यु भएपछि इन्सेक कोशी प्रदेश कार्यालयले पुस १७–२१ गतेसम्म स्थलगत अनुगमन गरी तथ्य सङ्कलन गरेको छ।

अनुगमन टोलीले मृतक परिवार, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख, अन्य सुरक्षाकर्मी, छानबिन समिति, जनप्रतिनिधि र नागरिक समाजका सदस्यहरूसँग भेटघाट र छलफल गरेको थियो। टोलीले घटनास्थलको अवलोकन गर्दै विस्तृत जानकारी सङ्कलन गरेको छ।

सशस्त्र प्रहरीका एसपी निर्मलकुमार थापाका अनुसार, विजय साहु चिनी तस्करी नियन्त्रणको क्रममा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो। डिएसपी सीताराम पौडेलले लौकहीमा सानो भन्सार कार्यालय मात्र रहेकाले पाँच हजार रुपैयाँसम्मको तस्करी नियन्त्रण गर्न सकिने र बढीको नियन्त्रण प्रयास गर्दा घटना भएको जानकारी दिनुभयो।

घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले दुई अस्थायी पोष्टमा आगजनी गरेका र बोर्डर आउट पोस्टमा ढुङ्गा-पेट्रोल बम प्रहार गर्दा १२ जना घाइते भएका र तीन सवारीसाधनमा क्षति पुगेको छ। प्रहरीले तनाव नियन्त्रणका लागि करिब दुई सय सेल अश्रुग्यास र हवाइ फायर प्रयोग गरेको थियो।

सुनसरी प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको र सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। मृतककी पत्नी गीतादेबी साहले न्याय पाउने आशा राखेको बताएकी छन्।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेल नेतृत्वको टोलीमा मानव अधिकार रक्षक सञ्जाल कोशीका संयोजक देवी बास्कोटा, इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादव, अधिकारकर्मी चुन्नी खातुन र पत्रकार अनिल श्रेष्ठ तथा पवन रौनियार सहभागी थिए। टोलीले घटनास्थल वरिपरिका स्थानीयवासीसँग विस्तृत जानकारी सङ्कलन गरेको छ।

इन्सेकले घटनाको निष्पक्ष छानबिन र पीडित परिवारको न्याय सुनिश्चित गर्न जोड दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *