भैरहवा । लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट समानुपातिकतर्फ निर्वाचित नीलम पासवानले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन्।
आज सभामुख तुलाराम घर्तीमगरले उनलाई शपथ गराएका हुन्।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.३ निवासी पासवान जनमत पार्टीकी कार्यकारिणी सदस्य पनि हुन्। उनी निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलित क्लस्टरको सूचीमा चौथो स्थानमा रहेकी थिइन्।

पूर्व प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो स्थान रिक्त भएको थियो। त्यसपछि जनमत पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गर्दै पासवानलाई प्रदेशसभा सदस्यका रूपमा चयन गरेको हो।
लुम्बिनी प्रदेशसभामा हाल कुल ८७ जना सदस्य रहेका छन्, जसमा जनमत पार्टीका तर्फबाट तीन जना सांसद प्रतिनिधित्व गरिरहेका छन्।
उनको प्रवेशले दलित महिला नेतृत्वमा नयाँ उत्साह थपिएको छ ।

