दिपेन्द्र पासवान
कुशहा, १५ कार्तिक । देशभर फैलँदै गएको भ्रष्टाचार र बेथितीविरुद्ध सप्तरीको सुरुङ्गा नगरपालिकाका युवाहरू सक्रिय बनेका छन्। स्थानीय तहदेखि नै सुधारको अभियान थाल्दै सुरुङ्गा युथ र नगरस्तरीय जेन्जी युवाहरूको अगुवाइमा भ्रष्टाचारविरुद्धको अभियानलाई संस्थागत रूप दिन वडा–वडामा समिति विस्तार सुरु गरिएको छ।
अभियानलाई निरन्तरता दिँदै शनिबार सुरुङ्गा नगरपालिका–७ पोखरिया बसानपट्टीमा १९ सदस्यीय टोलस्तरीय समिति गठन गरिएको छ। समितिको संयोजकमा राम नारायण चौधरी, सह–संयोजकमा लिलम साह, नेवालाल मण्डल, चन्द्र नारायण राम र नागेश्वर राम रहेका छन्।
त्यस्तै, सदस्यहरूमा प्रमोद बिक, जितेन्द्र प्रसाद बिक, दयानन्द चौधरी, सुनिल कुमार चौधरी, प्रदिप साह, श्रवण साह, शिवशंकर साह, महेश कुमार चौधरी, राजु दास, दुर्गा पासवान, संजय कुमार साह, आशा राम चौधरी र दुर्गानन्द साह रहेका छन्।
समितिका संयोजक चौधरीका अनुसार भ्रष्टाचारविरुद्धको अभियानलाई गाउँ–गाउँमा फैलाउँदै युवाहरूले जनचेतना र दबाब सिर्जना गर्ने योजना बनाएका छन्। उनका अनुसार, “सुधारको थालनी तल्लो तहबाटै गर्नुपर्छ, त्यसैले युवाहरू एकजुट भएका हुन्।”
यसअघि, शुक्रबार सुरुङ्गा युथ र नगरस्तरीय जेन्जी युवाहरूले नगरपालिकाकी मेयर गीता चौधरीलाई ३० बुँदे मागपत्र बुझाएका थिए। मागपत्रमा पालिकाभित्रका अनियमितता, अपारदर्शी खर्च, सार्वजनिक सेवा वितरणमा देखिएका कमजोरीलगायतका मुद्दा समेटिएका छन्। युवाहरूले १५ दिनभित्र मागहरू कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।
मागपत्र बुझ्दै मेयर चौधरीले युवाहरूको माग जायज रहेको स्वीकार गर्दै सुधारका लागि पहल गर्ने प्रतिबद्धता जनाइन्। उनले भनिन्, “युवाहरूको आवाज सकारात्मक छ, भ्रष्टाचार नियन्त्रणका लागि सहकार्यमै समाधान सम्भव छ।”
सुरुङ्गाका युवाहरूले सुरु गरेको यो अभियानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार, यस्ता कदमले स्थानीय तहमा पारदर्शिता र जवाफदेहिता बढ्ने अपेक्षा गरिएको छ।

