भारतले तोड्यो अष्ट्रेलियाको वर्चश्व, महिला विश्वकप २०२५ को फाइनलमा प्रवेश

भारतीय महिला क्रिकेट टोलीले विश्वकप २०२५ को फाइनलमा ऐतिहासिक प्रवेश गरेको छ। नवी मुम्बईस्थित डी.वाइ. पाटिल स्पोर्ट्स एकेडेमीमा सम्पन्न दोस्रो सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन अष्ट्रेलियालाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३३८ रनको ठूलो लक्ष्य राख्यो। त्यसको जवाफमा भारतले जेमिमा रोड्रिग्सको अविस्मरणीय शतकीय पारीको बलमा ४९ ओभरमै लक्ष्य हासिल गर्दै पाँच विकेटले शानदार जित दर्ता गर्‍यो।

यो विश्वकप इतिहासकै नोकआउट चरणमा भएको सबैभन्दा ठूलो रन चेज़ हो, जसको बराबरी अझसम्म पुरुष विश्वकपमा पनि भएको छैन।

भारतका लागि जेमिमा रोड्रिग्सले अन्त्यसम्म नटआउट रहँदै १३४ बलमा १२७ रनको चम्किलो पारी खेलिन्। उनले १४ चौका प्रहार गर्दै टोलीलाई विजयको नजिक पुर्‍याइन्। कप्तान हरमनप्रीत कौरले पनि ८८ बलमा ८९ रनको महत्वपूर्ण योगदान दिँदै टोलीलाई सशक्त स्थितिमा पुर्‍याइन्।

यी दुईबीचको साझेदारीले खेलको रुख नै भारततर्फ मोडिदियो। अन्त्यमा दीप्ति शर्मा, ऋचा घोष र अमनजोत कौरले तीब्र ब्याटिङ गर्दै जीत सुनिश्चित गरे।

अष्ट्रेलियाका सलामी ब्याटर फोबे लिचफिल्डले ११९ रनको शान्दार पारी खेलिन् भने एलिस पेरी र एश्ले गार्डनरले पनि क्रमशः ७७ र ६३ रन बनाए। अष्ट्रेलियाले एक समय बलियो स्थितिमा देखिए पनि भारतका बलरहरूले अन्तिम ओभरहरूमा उत्कृष्ट प्रदर्शन गर्दै उनीहरूलाई ३३८ रनमै रोकिदिए। दीप्ति शर्माले ७३ रन खर्चेर दुई विकेट लिइन् भने श्री चरणीले पनि दुई विकेट दिलाइन्।

अब भारतले २ नोभेम्बरमा साउथ अफ्रिकासँग विश्वकपको फाइनल खेल्नेछ। यो जितसँगै भारतीय महिला टोलीले विश्व क्रिकेटमा नयाँ इतिहास रचेको छ। यो केवल जित होइन, साहस, आत्मविश्वास र दृढ इच्छाशक्तिको प्रतीक बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *