एजेन्सी ,१३असोज, । चीनमा विगत केही वर्षदेखि निरन्तर चलिरहेको भ्रष्टाचार विरोधी अभियान अन्तर्गत पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई मृत्युदण्डको फैसला सुनाइएको छ ।
जिलिन प्रान्त स्थित चाङ्चुन जन अदालतले सार्वजनिक गरेको विज्ञप्ति अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब दुई अर्ब ६८ करोड युआन बराबरको नगद र सम्पत्ति घुस स्वरूप संकलन गरेको प्रमाणित भएको समाचार संस्था एएफपीले जनाएको छ । अदालतले यो अपराधलाई अत्यन्त गम्भीर भन्दै मृत्युदण्डको फैसला गरेको हो । तर उनले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको अदालतले जनाएको छ ।
यो फैसला चीनका राष्ट्रपति सी जिनपिङको नेतृत्वमा सन् २०१२ देखि सञ्चालनमा आएको भ्रष्टाचार विरोधी अभियान अन्तर्गतको पछिल्लो कदमका रूपमा आएको हो । यस अभियान मार्फत हजारौं सरकारी अधिकारी, उच्च पदस्थ सैन्य कमाण्डर तथा मन्त्रीहरू समेत कारबाहीमा परेका छन् । ताङ रेन्जियानले विगतमा कृषि मन्त्रालय सहित विभिन्न उच्च पदमा रहेर राज्यको सम्पत्ति र अधिकारको दुरुपयोग गर्दै ठूलो मात्रामा व्यक्तिगत लाभ उठाएको अभियोग लागेको थियो ।
अभियानका समर्थकहरूले यसलाई चीनमा सुशासन कायम गर्न र सरकारी संयन्त्रलाई पारदर्शी बनाउन आवश्यक कदमका रूपमा व्याख्या गरेका छन् । उनीहरूको भनाइमा यस किसिमको कठोर सजायले भ्रष्टाचार नियन्त्रणमा ठूलो योगदान पुर्याउनेछ । तर आलोचकहरूले भने यसलाई शुद्ध राजनीतिक रणनीति र प्रतिद्वन्द्वीहरूलाई कमजोर बनाउने हतियारका रूपमा लिने गरेका छन् । उनीहरूको भनाइमा अदालत र कानुनी प्रक्रिया पूर्ण रूपमा स्वतन्त्र नभएकाले यस्तो अभियान न्यायभन्दा बढी सत्ताकै स्वार्थ अनुरूप अघि बढाइने गरेको छ ।
यससँगै चीनमा उच्च पदस्थ नेताहरूलाई भ्रष्टाचार मुद्दामा कठोर सजाय दिने प्रवृत्ति थप बलियो बन्दै गएको छ । ताङमाथि भएको फैसला यसैको नवीनतम उदाहरण बनेको छ।

