कारागार आन्दोलनबाट फरार मण्डल घरमै लुकेर बसेको अवस्थामा पक्राउ

समता खबर सम्बादाता

सप्तरी , ७ मंसिर। फरार अभियुक्तहरूलाई नियन्त्रणमा लिन गरिएको प्रहरी निगरानी अभियान अन्तर्गत सप्तरी प्रहरीले जबरजस्ती करणी मुद्दाका दोषी कामेश्वर मण्डललाई पक्राउ गरेको छ। बोदे बर्साईन नगरपालिका–१ महनौरीका ४५ वर्षीय मण्डल शनिबार दिउँसो आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।

फरार अपराधीसम्बन्धी गोप्य सूचनाका आधारमा प्रहरी चौकी बोदे बर्साईनबाट खटिएको टोलीले स्थानीय बस्तीलाई घेराबन्दी गरी मण्डललाई नियन्त्रणमा लिएको प्रहरी बरिष्ठ नायब निरीक्षक नबिनकुमार झाले बताए।

प्रहरीका अनुसार मण्डल भदौ २५ गते जिल्ला कारागार राजविराजमा कैदीहरूले थालेको आन्दोलनका क्रममा भाग्न सफल भएका थिए। प्रहरीका लागि लामो समयदेखि चुनौती बनेका उनी फरार सूचीमा प्राथमिकताका साथ राखिएका थिए।

मण्डल २०८० साल पुस २९ गते छिमेकी अधबैंसे महिलामाथि बलात्कार गरेको अभियोगमा दोषी ठहर हुँदा जिल्ला अदालत सप्तरीले उनलाई ७ वर्ष कैद३ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो। उनले १९ महिना मात्र कैद भुक्तान गरेका थिए।

ईलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक गजेन्द्र रायाका अनुसार फरार अवस्थामै लुकिरहेको अभियुक्त पक्राउ परेसँगै जिल्लामा अपराध नियन्त्रण अभियान अझ प्रभावकारी रूपमा अघि बढाइएको छ। पक्राउ परेका मण्डललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार चलान गरिने प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *