कुशहा २१ कार्तिक। जागरुक युवा अभियान सप्तरी र जे.एन.जी नगर समिति बोदे बरसाइनले मधेसी दलित आरक्षण कोटाअन्तर्गत पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकालेका बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासलाई रु २१,००५ आर्थिक सहयोग प्रदान गरेका छन्।
विपन्न परिवारमा जन्मिएका तथा अपाङ्गता भएका दासले आर्थिक अभावकै बीच आफ्नो अध्ययनलाई निरन्तरता दिएका थिए। काठमाडौंमा एमबीबीएस प्रवेश परीक्षाको तयारी गर्न पुगे पनि खर्च अभावका कारण बीचमै फर्किनु परेको थियो। त्यसपछि उनले गाउँमै बिजुली मिस्त्रीको मजदुरी गर्दै दिनभर काम र रातभर पढाइलाई निरन्तरता दिए।
मजदुरीबाट बचेको रकमले किताब किन्दै र खर्च जोगाउँदै दासले चार पटकसम्म एमबीबीएस प्रवेश परीक्षा दिएका थिए। निरन्तर संघर्ष र आत्मविश्वासका कारण अन्ततः उनी एमबीबीएस अध्ययनका लागि छनोट हुन सफल भए।
दासको सफलतापछि उनलाई सहयोग गर्ने क्रम बढेको छ। जागरुक युवा अभियान सप्तरीका अभियानीहरू र जे.एन.जी नगर समिति बोदे बरसाइनले घरमै पुगेर नगद सहयोग हस्तान्तरण गरेका हुन्। संस्थाका सल्लाहकार सुरेन्द्र प्रसाद साहले दासको अध्ययन अवधिभर थप सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
ओमप्रकाश दासको संघर्षपूर्ण यात्राले आरक्षण व्यवस्था सीमान्तकृत समुदायका लागि अवसरको ढोका खोल्ने महत्वपूर्ण माध्यम बनेको र दृढ इच्छाशक्ति भए अभावले पनि सपनालाई रोक्न नसक्ने सन्देश दिएको छ।

