कुशहा — प्रहरीले स्रोत नखुलेको करिब २३ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ का २८ वर्षीय किरण सिटौला र १९ वर्षीय धिरज प्रसाई रहेका छन्।
सगरमाथा राजमार्ग हुँदै कदमाहाबाट गाईघाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२८ च ५००८ नम्बरको गाडीलाई सुरुङ्गा नगरपालिका–२ मा शुक्रबार राति करिब ९ बजे चेकजाँच गर्दा प्रहरीले उक्त रकमसहित विभिन्न इलेक्ट्रोनिक उपकरण फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बरामद उपकरणमा एक थान साइकल पम्प, तीन थान इलेक्ट्रिक रिक्साका मोटर, ३१ थान इलेक्ट्रिक साइकलका ब्याट्री, तीन थान इलेक्ट्रिक स्कुटरका ब्याट्री, सात थान ब्याट्री चार्जर र एक थान ब्याट्री टेस्टर रहेका छन्।
इलाका प्रहरी कार्यालय भेडियाका इन्स्पेक्टर पूर्णकुमार राईको नेतृत्वमा खटिएको टोलीले रकम र सामानको स्रोतबारे थप अनुसन्धान गरिरहेको छ। पक्राउ परेकाले आफूहरू ब्याट्री आपूर्तिकर्ता व्यापारी भएको दाबी गरे पनि रकम र उपकरणको वैधानिक स्रोत खुलाउन नसकेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार बरामद रकम र उपकरणको वास्तविक स्रोत पत्ता लगाउने काम भइरहेको छ। अनुसन्धान पूरा भएपछि उनीहरूविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइने उनले बताए।

