१५ वर्षीय सुभाष सदा र ८ वर्षीया बहिनी निभा सदाको सहारा बनिन् डा. बबी सिंह

समता खबर सम्बाददाता ।
सप्तरी, ९ असोज ।
रसुवामा आएको बाढीमा बुबा बेपत्ता भएपछि सहारा धधविहीन बनेका सप्तरीको राजविराज नगरपालिका–१६ का १५ वर्षीय सुभाष सदा र उनकी ८ वर्षीया बहिनी निभा सदाको सहारा समाजसेवी डा. बबी सिंह बनेकी छन्।


मजदुरीका लागि रसुवा पुगेका उनीहरूका बुबा बेचन सदा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका हुन्। बाढीपछि बेचन परिवारको सम्पर्कमा आउन सकेका छैनन्।


दाजु–बहिनीले यसअघि नै आमालाई गुमाइसकेका थिए। उनीहरूकी आमा फुलिया देवीको गत वर्ष कात्तिकमा क्यान्सरका कारण मृत्यु भएको थियो। आमाको निधनपछि १५ वर्षीय सुभाषले नै बहिनी निभाको हेरचाह गर्दै आएका थिए।


आमा गुमाएको पीडा नसकिँदै बुबासमेत बेपत्ता भएपछि सुभाष र निभाको जीवन झनै कठिन बनेको थियो। आर्थिक अवस्था कमजोर रहेका उनीहरू आफन्त तथा अन्य व्यक्तिको सहयोगमा दैनिक जीवनयापन गर्दै आएका थिए।


यही कठिन परिस्थितिमा समाजसेवी डा. बबी सिंहले दाजु–बहिनीको जिम्मेवारी लिने घोषणा गरेकी छन्। शुक्रबार उनीहरूको घर पुगेकी डा. सिंहले सुभाष र निभाको लालनपालनसँगै शिक्षाको जिम्मेवारीसमेत आफूले लिने बताएकी हुन्।


डा. सिंहले दाजु–बहिनीलाई आफूसँगै राखेर अध्ययन गराउने प्रतिबद्धता जनाएकी छन्। लामो समयदेखि अभिभावकविहीनजस्तै अवस्थामा रहेका सुभाष र निभाका लागि यो पहलले शिक्षा र भविष्यप्रति नयाँ आशा जगाएको छ।


बुबाको अवस्था अझै अज्ञात रहेको र आमासमेत गुमाइसकेका दाजु–बहिनीले अब पढाइ र पालनपोषणको जिम्मेवारी सुनिश्चित हुने भएपछि खुसी व्यक्त गरेका छन्।


संकटको घडीमा डा. सिंहले देखाएको यो मानवीय पहलले सुभाष र निभाको जीवनमा नयाँ आशाको किरण ल्याएको छ। कठिन परिस्थितिमा रहेका यी बालबालिकाको शिक्षा र भविष्य निर्माणमा प्राप्त भएको यो साथ उनीहरूका लागि ठूलो सहारा बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *