सप्तरीमा सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रशासनद्वारा कर्फ्यु आदेश जारी

समता खबर सम्बादाता ।
राजविराज, २७ भदौ ।
शान्ति सुरक्षा कायम गर्न सप्तरी जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित अप्रिय घटना र हुलदङ्गालाई रोक्न साउन २७ गते साँझ ५ बजेदेखि नै यो आदेश लागू गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलद्धारा शुक्रबार जारी गरिएको सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम यो कदम चालिएको उल्लेख गरिएको छ ।


जारी सुचनामा तोकिएको समय र चारकिला भित्र आबतजाबत गर्र्न, भेला, जुलुस, प्रदर्शन, सभा र बैठकजस्ता गतिबिधी रोक्न अर्को आदेश नभए सम्मका लागि कर्फ्यु जारी रहने जिल्ला प्रशासन कार्यालय राजबिराजले जनाएको छ ।


कर्फ्यु आदेश सम्पूर्ण सप्तरी जिल्लामा लागू हुने गरी जारी गरिएको छ । यसको चौहद्दीमा उत्तरतर्फ उदयपुर जिल्लाको सिमाना, पूर्वतर्फ सुनसरी, दक्षिणतर्फ भारत र पश्चिमतर्फ सिराहा जिल्लाको सिमाना तोकिएको छ ।


यस आदेशअनुसार कर्फ्यु लागेको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई हिँडडुल गर्न वा सवारीसाधन चलाउन अनुमति दिइएको छैन । प्रशासनले कर्फ्यु आदेशको अवज्ञा गर्ने जोसुकैलाई पनि कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *